टोखा नगरपालिकाले १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्‍यायो

काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।


नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको जानकारी दिए ।‘डाक्टर र औषधसहित निर्माण गरिएको आइसोलेशन केन्द्रमा आजैदेखि टोखाका कोरोना सङ्क्रमित बिरामीको उपचार हुनेछ’, उनले भने । बिरामीको अवस्था हेरेर उक्त स्वास्थ्य केन्द्रमा ५० शय्याको आइसोलेशन केन्द्र निर्माण गरिने उपप्रमुख डङ्गोलको भनाइ छ ।

नगरपालिकाले नगर उपप्रमुख डङ्गोलको संयोजकत्वमा आइसोलेशन सेन्टर व्यवस्थापन तथा अनुगमन समिति निर्माण गरी कोभिडका बिरामीको उपचारका लागि सम्भावित स्थानको अध्ययन गरिरहेको छ । यस्तै नपाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र निर्माण गर्न लागेको छ ।नगरपालिकाले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)सँगको सहकार्यमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेशन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।


‘अक्सिजन थेरापीसहित आइसोलेशन केन्द्र स्थापना भएसँगै अक्सिजनको मात्रा कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ’, उनले भने। राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र ८० शय्याको हुने नगरपालिकाले जनाएको छ ।


उक्त नगरपालिकाभित्रका जनप्रतिनिधि तथा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि यही वैशाख ३० गतेसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको छ । यस्तै सो नगरपालिकाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेका बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालसँग सहकार्य गर्ने भएको छ ।

नपाल ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल तथा प्रसूति गृह गोङ्गबुसँग टोखाभित्रका सङ्क्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए । उत्तरमा नुवाकोटसँग सिमाना जोडिएको टोखामा ११ वडा रहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..