काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित ३१औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवम् म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले यस किसिमको खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो सीप प्रदर्शन गर्न र आत्मविश्वास विकास गर्न सहयोग पुर्याउने चर्चा गर्नुभयो । दैनिक शैक्षिक गतिविधिका साथसाथै खेल मार्फत जीवनका अमूल्य पाठहरू सिक्न महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै नवप्रतिभाहरूको पहिचान तथा खेलकुदको प्रवर्द्धन गर्न समेत यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
विद्यालय व्यक्तित्व विकासको आधारशिला भएको चर्चा गर्दै विद्यार्थीहरूको रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न विद्यालयले विभिन्न सिर्जनशील र रचनात्मक कार्यहरू संचालन गरी विद्यार्थीहरूको समग्र बौद्धिक एवम् व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माण गर्न विद्यालय परिवार सदैव क्रियाशील हुन उहाँले आग्रह गर्नुभयो ।
आज भएको फाइनल खेलमा नेपाल पुलिस स्कुल साँगा रातोले सैनिक आवासीय महाविद्यालय भक्तपुरलाई १-० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगा रातो प्रथम, सैनिक आवासीय महाविद्यालय भक्तपुर द्वितीय र पिस पोइन्ट स्कुल बानेश्वर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूद्वारा नृत्य तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्ले समेत गरिएको थियो ।


