पत्रकारलाई सञ्चारमन्त्री गुरुङको आग्रह: सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुस्

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘रासस मिडिया सङ्ग्रहालय’को आज शुभारम्भ गर्दै उनले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

“सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुपर्छ”, सञ्चारमाध्यमका भूमिकाबारे स्पष्ट पार्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, “तर एक पक्षीयरुपमा विरोध मात्रै गर्नु निश्पक्ष पत्रकारिता होइन, सञ्चारमाध्यम र स्वयम् पत्रकार पनि रचनात्मक हुनुपर्छ ।” उनले सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको विश्वव्यापी सिद्धान्त भए पनि पछिल्लो समय स्वतन्त्र पत्रकारिता व्यक्ति केन्द्रित आलोचनामा सीमित भएकामा चिन्ता व्यक्त गरे ।

पत्रकारिता क्षेत्रले वस्तुनिष्ठ र अनुशासित भएर आफ्नो भूमिका निर्वाह गरे मात्रै सरकार उत्तरदायी र जिम्मेवार हुने उल्लेख गर्दै मन्त्री गुरुङले भने, “सञ्चारमाध्यमको भूमिका प्रतिपक्षी हुनुपर्छ, गलत काममाथि प्रश्न उठाउनुपर्छ, सही र गलत छुट्टयाउन सक्नुपर्छ, सरकार र समाजलाई सभ्य बनाउन केन्द्रित हुनुपर्छ ।”

जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन पनि सञ्चारमाध्यमले सरकारलाई खबरदारी गर्नु अपरिहार्य रहेको मन्त्री गुरुङको भनाइ थियो । “वर्तमान सरकार जनताप्रति बढी उत्तरदायी र जवाफदेही हुन खोजिरहेको छ, यसतर्फ सञ्चार जगत्को रचनात्मक सहयोग आवश्यक छ”, उनले भने । उनले अमर्यादित अभ्यासले सिङ्गो पत्रकारिता क्षेत्रमाथि नै प्रश्न उठिरहेको सन्दर्भमा पत्रकारितालाई व्यवस्थित, मर्यादित तथा रचनात्मक बनाउन सबै पक्ष सजग र सचेत हुनुपर्ने धारणा राखे ।

वर्तमान सरकारले अनावश्यक प्रचार नखोजेको उल्लेख गर्दै प्रवक्ता गुरुङले सरकारका जनपक्षीय कामलाई जनतासमक्ष पु¥याउन भने मिडियाले सहयोग गर्नुपर्छ भने । ‘मिडिया कन्टेन्ट’ उत्पादन केन्द्रका रुपमा रहेको राससले आफूलाई व्यवस्थित, सिर्जनशील र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रको अभिभावकको भूमिका निर्वाह गर्न निर्देशन दिए । राससले स्थापना गरेको मिडिया सङ्ग्रहालयबाट सञ्चार क्षेत्रको विकासको अध्ययन गर्न महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले पछिल्लो पुस्ताका लागि महान् काम भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..