काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्।
उनले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री दाहालले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने बताए। ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन’, प्रधानमन्त्री दाहालले भने।
नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री दाहालले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए। ‘राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्’, प्रधानमन्त्रीले भने, ‘हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ। अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु।’
सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘म आफू पनि राष्ट्र र कानुन विपरीतको कुनै पनि काम गर्दिन र तपाईँहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु।’
जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत दस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए।


