काठमाडौं । भारतमा यसैसाता हुने जी-ट्वान्टी शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी नहुने भएका छन् ।
विश्वका विकसित देशहरुको समूह जी-ट्वान्टीको शिखर सम्मेलन आगामी शनिबारदेखि भारतको नयाँदिल्लीमा हुँदै छ । सम्मेलनमा चीनबाट प्रधानमन्त्री ली चियाङ सहभागी हुनेछन् । चिनियाँ विदेश मन्त्रालयले सम्मेलनमा राष्ट्रपति सी सहभागी नहुने प्रस्ट्याएको छ ।
त्यसको कारण भने खुलाइएको छैन । सन् २०१२ देखि राष्ट्रपति सी सधैं जी-ट्वान्टी शिखर सम्मेलनमा सहभागी हुँदै आएका थिए ।
जी-ट्वान्टी शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन पनि सहभागी नहुने निश्चित भइसकेको छ ।चीन र भारतबीच पछिल्लो सीमा नक्सा विवादले तनाव बढेको छ ।
चीनले जारी गरेको नक्सामा अरुणाचल प्रदेश पनि समेटिएपछि भारत आक्रोशित छ ।


