कृष्णनगर । कपिलवस्तुका नाकाबाट राँगा तस्करी हुने गरेको छ ।भारतको सिद्र्धाथनगरको हरदौना, कुशहवा बढ्नी, लोहटी, भिल्मी, बगही, कुकुरभुकवा, सिर्सिहवाबाट राँगा तस्करी हुने गरेको हो ।राँगा तस्करी नियन्त्रणमा सुरक्षाकर्मीहरु एक अर्कालाई आरोप लगाएर उम्कँदै आएका छन् ।
सीमानामा रहेका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट अगाडीबाटै राँगाको तस्करी नेपालतर्फ भित्रँदा समेत कुनै चासो नदेखाएपछि आशंका बढेको छ । भारतबाट साताको तीन दिनमा झण्डै १ करोड बढीका राँगा भित्रने गरेको छ । प्रत्येक नाकाबाट दैनिक १ सयदेखि २ सय राँगा भित्रन्छन् । सरकारले तीन वर्षअघि नै राँगा, खसिबोका आयातमा कडाई गरेपछि यसको तस्करी हुन थालेको हो ।
आइतबार, सोमबार र मंगलबार भारतबाट रातको समयमा कृष्णनगर विभिन्न नाकाबाट राँगाहरु नेपाल ल्याइन्छ । त्यसपछि बहादुरगञ्जमा सोमबारदेखि बुधबारसम्म चल्ने पशु हाटबजारमा ल्याइन्छ ।
हाट बजारमा उनीहरुलाई नेपाली पशु प्रमाणित गरिन्छ । त्यसपछि उनीहरुलाई कीर्ते भेटनरी प्रमाणित गराई पशुपंक्षी फर्मबाट खरिदबिक्री गरेर काठमाण्डौं लगायत शहरमा पठाइन्छ । कपिलवस्तुमा मासुको लागि राँगा, पाडापाडी सम्बन्धी कुनै फर्म नै नभएको र भन्सारबाट समेत राँगा, पाडापाडी आयात नगरिएको अवस्थामा ठूलो परिमाणमा काठमाण्डौ निर्यात हुनुले पनि यसको अवैध तस्करी भइरहेको पुष्टि हुन्छ ।
प्रहरीले रागाँ तस्करी नियन्त्रणमा आफुले प्रयास गरे पनि विवाद मात्र सिर्जना हुदै आएको बताएको छ भने सशस्त्र प्रहरी बल २८ नम्बर गण हेडक्वार्टर कपिलवस्तुका प्रमुख एसपी जीवन केसीले थाहा नभएको बताए ।


