विराटनगर । लोडसेडिङ अन्त्य गरेको जस नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाउने गरेका छन् ।उनको कुशल व्यवस्थापनका कारण १५ वर्षदेखि कायम रहेको लोडसेडिङ ७५ सालमा घोषित रुपमै अन्त्य भएको पनि थियो । तर अहिले पूर्वका उद्योगी व्यवसायीले कुलमान घिसिङको राजीनामा माग्दै आन्दोलन गरिरहेका छन् ।
उद्योगीहरुले विद्युतका माफिया को हुन् ? भन्ने खुलाएका छैनन् तर उनीहरुले विद्युतका माफियाविरुद्ध पनि मुर्दावादको नारा लगाएका छन् ।प्राधिकरणविरुद्ध आन्दोलन गर्न विराटनगरबाट उद्योगीहरु सुनसरीको दुहबी ग्रिड पुगे । विराटनगरको यो आन्दोलनलाई कुलमान घिसिङले चाहिँ राजनीतिको संज्ञा दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ७५ वैशाखमा मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरेका थिए ।१५ वर्षदेखि लोडसेडिङको मार खेपिरहेको मुलुकमा पाँच वर्षअघि उद्योगमा कायम रहेको दैनिक तीन घण्टाको लोडसेडिङ पनि अन्त्य गर्दै घिसिङले लोडसेडिङ पूर्णतः हटेको दावी गरेका थिए ।
यस्तो घोषणा भएको पाँच वर्षपछि पूर्वका उद्योगी व्यवसायी सुनसरीको दुहबीमा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखा घेर्ने पुगे । उनीहरुको यो आन्दोलनको नाम थियो ‘विद्युत आतंकविरुद्ध घेराउ कार्यक्रम’।लोडसेडिङ अन्त्य भएको घोषणा र यो सफलतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा अहिले पनि हुने गर्छ । तर पूर्वका उद्योगले नेपाल विद्युत प्राधिकरणको सेवालाई ‘विद्यत आतंक’ भनेका छन् ।
औद्योगिक क्षेत्रमा अनियमित तवरले हुने गरेको विद्युत कटौतीको विरोधमा आइतबार उद्योगी व्यवसायीले विभिन्न माग राख्दै प्राधिकरणको ग्रिड शाखा घेराउ गरेका हुन् ।
यसअघि, प्राधिकरणको कोसी प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएर अनियमित विद्युत आपूर्ति, ट्रिपिङ र लो–भोल्टेजको समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको थियो । तर, प्राधिकरणले समस्या समाधानमा चासो नदेखाएको भन्दै उद्योगीले ग्रीड शाखा घेराउ गरेका हुन । उनिहरुले नेपाल विद्युत प्राधिकरण सँग लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न माग समेत गरेका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले औद्योगिक क्षेत्रमा हुँदै आएको अघोषित लोडसेडिङ अन्त्य गर्न आग्रह गरे पनि सुनुवाइ नभएको र आप्mना मागहरु सरकार समक्ष पुर्याउन आन्दोलन गरिएको बताएका छन् ।उनीहरुले विद्युत कटौति सेडुल जारी गर ,जथाभावि विद्युत काट्न पाइदैन,उद्योग मास्न पाइदैन, कुलमान घिसिङ् राजिनामा दे, विद्युत माफिया मुर्दावाद जस्ता नारा लगाएर विरोध गरेका थिए ।
सुनसरी –मोरङ औधोगिक करिडोरमा प्रत्येक दिन ८ घण्टा भन्दा बढि समय लोडसेडिङ भईरहेको कारण उद्योगहरु धारासायी अवस्थामा पुगेको भन्दै आन्दोलनमा उत्रनु परेको उद्योगिहरुको भनाइछ ।
संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका रिजालले बैक ब्याजदरको मारबाट वाहिर निस्कन नपाउदै अघोषित लोडसेडिङले मार पारेको बताएका छन् ।उनले प्राधिकरणले सेड्युल सार्वजनिक गरेरै विद्युत काट्न आग्रह गरको छन् ।
विद्युत समस्याका कारण अहिले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले आधा उत्पादन कम गर्नुपरेको भन्दै उद्योगीले दुहबी ग्रीड शाखाका प्रमुख रोशन खड्कासमक्ष आफ्ना माग राखेका छन् ।


