कीर्ते काण्डले एआइजी बढुवा अन्योलमा

काठमाडौं । नेपाल प्रहरीमा बढुवाका एक प्रमुख दाबेदार नै अख्तियारको छानबिनमा तानिएपछि एआइजी बढुवा अन्योलमा परेको छ । यसले भावी प्रमुख प्रमुख नियुक्ति प्रक्रिया पनि प्रभावित बनेको छ ।

डिआइजी अशोक सिंह नागरिकता र शैक्षिक प्रमाणपत्रसम्बन्धि गम्भीर विवादमा फसेका हुन् । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयले एकैपटक छानबिन थालेका छन् । सोही कारण एआइजी बढुवाको प्रक्रिया पनि रोकिएको छ ।

एआइजी पूजा सिंहले आइतबार अवकाश पाएपछि एआइजीका पाँच दरबन्दी रिक्त भएका थिए । सिंहको अवकाश लगत्तै बढुवाको प्रक्रिया अघि बढाउने तयारी भए पनि अशोक सिंहको शैक्षिक योग्यता विवादपछि बढुवा रोकिएको स्रोत बताउँछ । डिआइजी सिंहको नागरिकता र र सिटरोलमा भरेको जन्ममिति फरक देखिएको हो ।

सिंहको नागरिकताअनुसार जन्ममिति २०२४ को २२ जेठ देखिन्छ भने उनले प्रहरी प्रधान कार्यालयको सिटरोलमा जन्ममिति १६ पुस २०२५ भरेका छन् । नागरिकताको उमेरअनुसार उनले साढे २६ वर्षमा जागिर खाएको देखिएपछि छानबिन सुरु भएको हो । प्रारम्भिक छानबिनमै गम्भीर विषय देखिएपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले छानबिनका लागि निर्देशन दिएको स्रोत बताउँछ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी किताबखानासँग उनको जन्ममिति, शैक्षिक योग्यता लगायतका कागजपत्र झिकाएर छानबिन थालेको छ । २०५१ सालको चैतमा उनी इन्सपेक्टरमा भर्ना भएका थिए । त्यसबेला सुदुरपश्चिमकै मोतिलाल बोहरा आइजिपी थिए । बोहराले त्यसरी सिटरोलमा फरक उमेर राखेर भएपनि उनलाई भर्ना गराएको आरोप छ ।

नागरिकताको उमेरअनुसार उनले एसएसपीबाटै अवकाश पाउने देखिएको स्रोत बताउँछ । एसएसपीको उमेरहद ५५ वर्ष हो । जुन गत जेठमा नै पुरा भइसकेको छ । आइजिपीको प्रमुख दाबेदारका रुपमा उदाएकोमा बढी महत्वाकांक्षी हुँदा उनको जागिर नै यतिबेला संकटमा परेको छ ।

यसअघि पनि आर्थिक अनियमिततामा मुछिएपछि उनीमाथि छानबिन भई कारबाही सिफारिस भएको थियो । तर, कारबाही रोक्न सफल भएका थिए । अहिले पनि गृहसचिव विनोदप्रकाश सिंहमार्फत छानबिन प्रभावित पार्ने प्रयास गरेको स्रोतले बताएको छ ।

गृह मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री प्रचण्ड तत्कालै एआइजी बढुवाको तयारीमा थिए । तर, सिंहको बारेमा थप बुझेपछि उनी पनि पछि हटेको स्रोत बताउँछ । अघिल्लो कार्यकालमा पनि आइजिपी काण्डमा फसेका प्रचण्ड यसपटक प्रहरीमा राजनीति नगर्ने पक्षमा रहेको बताइन्छ ।

एआइजीका पाँच पदमा २० डिआइजीबीच प्रतिस्पर्धा छ । बरियताअनुसार बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली अहिले अगाडि देखिएका छन् । यद्यपि, चार जना महिला एआइजी बढुवा प्रतिस्पर्धामा रहेकोमा समाबेशी गराउनुपर्ने दबाब पनि सरकारमाथि छ । सरकारले एक जना महिला एआइजी बढुवा गर्ने सम्भावना छ ।

यसरी बढुवामा विवाद हुँदै जाँदा भावी आइजिपी नियुक्ति पनि अन्योलमा परेको छ । हालका प्रहरी महानिरीक्षक सिंह लगायत उनका ब्याचीले १० चैतपछि अवकाश पाउँदैछन् । त्यो अवस्थासम्म आइजिपी नियुक्तिको विवाद बढ्दै गएमा प्रहरीको सेवाहद ३० वर्ष हटाएर अहिलेकै नेतृत्वलाई निरन्तरता दिने सम्भावना समेत छ ।

प्रहरीमा ३० वर्षे सेवाहदका कारण संगठन र देश दुवैलाई घाटा हुँदै आएको छ । अहिलेका महानिरीक्षक तथा एआइजी पनि सेवाहद हटाउन लबिइङ गर्दै आएका छन् । पछिल्लो ब्याचका अधिकांश डिआइजी पनि सेवाहद हटाउनुपर्ने पक्षमा उभिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..