काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् । बुधबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गइरहेको बताएका हुन् ।
‘अब सरकारको पनि ध्यान कता जाओस्, कता नजाओस् । सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ । सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ । देशतिर कसले ध्यान दिने ? यो खालको अवस्थाबाट चाहिँ हामीहरू अलिकमाथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक इक्सरसाइज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्याउन सकिन्छ,’ उनले भने ।
उनले सरकार ढाल्ने र टिकाउने खेलभन्दा माथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक इक्सरसाइज’ गर्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे । अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठीक बाटोमा अघि बढाउन आफूहरूले कोसिस गरिरहेको दाबी पनि गरे ।
उनले नेपालको राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको पनि पटक-पटक दोहोर्याए । अध्यक्ष ओलीले योगसहितको आयुर्वेदलाई स्वास्थ्य अभियानकै रूपमा अघि बढाउन सके मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने बताए । त्यसका लागि सरकारलाई आवश्यक ध्यान दिन आफूले पनि सुझाव दिने उनको आश्वासन थियो ।


