सप्तरी। ‘चुनावी घरदैलोमा जाँदा किसानले सोध्छन्–उपेन्दर बाबु खाद्य लावलह अर्थात् नेताजी खाद्य चाहियो ।’
मंगलवार सप्तरीको तोपा बजारमा जनता समाजवादी पार्टीले आयोजना गरेको चुनावी आमसभामा पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी २ बाट उम्मेदवार बनेका उपेन्द्र यादवले किसानको गुनासो प्रश्नबाट आफ्नो भाषण सुरुवात गरे । अध्यक्ष यादवले आउने पाँच वर्षभित्र किसानको खेतमा नेपालकै खाद्य फैक्ट्रीबाट खाद्यान्न उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरे ।
किसानको समस्याको हलसँगै यहाँका युवा कतार र खाँडी जान नपर्ने र नेपालको राष्ट्रपति हरेक नागरिकको भोटबाट चुनिने व्यवस्था ल्याउने पनि अध्यक्ष यादवले बताए । यस्तै, आज नेपालको मधेसी भनेर चिनिन पाएकोमा पनि अध्यक्ष यादवले खुसी व्यक्त गरे ।
उनले भने, ‘आजभन्दा पाँच वर्ष अघि यसै तिलाठीको पवित्र भूमिबाट मलाई भोट दिनु म मधेश राज्य दिन्छु भनेर भनेको थिएँ । आज दुनियाँमा नेपालको मधेशी भनेर हामी चिनिन पाएका छौँ ।’
विराटनगर, हेटौँडा , लुम्बिनीझैँ सप्तरीलाई विकासको दृष्टिले दुनियाँको नमुना केन्द्र बनाउनको लागि राजनैतिक अभियानसमेत रहेकोले यो निर्वाचनमा जसपा जित्नु आवश्यक रहेको पनि उनले बताए ।
उनले भने, ‘विगतमा मलाई जिताएर सप्तरीमा स्वास्थ्य , हवाई, सडक संजाललगायतको विकास गरे अबको पाँच वर्षमा सप्तरीलाई कृषिलाई उद्योग र रेलवे ट्र्याकसहित भारतदेखि गाईघाटसम्म जोडने सडक संजालको विकास गरिनेछ ।’


