काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहको घरदैलो जारी छ । उम्मेदवार सिंहले आइतबार काठमाडौं क्षेत्र नं. १ अन्तर्गत मैतिदेवी, डिल्लीबजार, घट्टेकुलो र आसपासका क्षेत्रमा घरदैलो गरेका हुन् ।
गठबन्धनका नेता, कार्यकर्ताहरुसहितको उनको टोली सो क्षेत्रमा घरदैलोमा पुगेको हो । चुनावी गीत घन्काउँदै र हाते माइकमा आफूहरु घरदैलोमा आएको जानकारी गराउँदै नेता, कार्यकर्ता सहभागी भएका थिए । टोलीले नेपालको झण्डा, नेपाली काँग्रेसको झण्डा र चुनाव चिन्ह रुख अंकित झण्डा बोकेको थियो ।
उम्मेदवार सिंहको घरदैलोको क्रममा भेटिएकी काठमाडौं महानगरपालिका वडा नं. २९ कि अम्बिका सुवेदीले देशको विकास, शान्ति सुरक्षा र अधुरा विकास निर्माणका काम पूरा गर्नका लागि नेपाली काँग्रेसलाई नै मतदान गर्नुपर्ने बताइन् । उनले देशको राजनीतिक कठिनाईहरुको सम्बोधन नेपाली काँग्रेसले मात्रै गर्नसक्ने भएकाले काँग्रेसको जरुरत अझै रहेको उनले उल्लेख गरिन् ।
त्यस्तै शम्भू तामाङले काठमाडौं क्षेत्र नं. १ मा प्रकाशमान सिंहको माहोल राम्रो भएको बताए । उम्मेदवार सिंह जनताको घर घरमा पुगेको र जनतालाई खुशी बनाएको उनको भनाइ छ ।
अनामनगरिक रेनु दाहाल भट्टराईले उम्मेदवार सिंहको प्रमुख उद्देश्य जनताको न्युनतम भन्दा न्युनतम आवश्यकता पूरा गर्ने रहेको बताइन् । उनले उम्मेदवार सिंहको प्रभाव स्थानीय तहदेखि केन्द्रीय तहसम्म रहेकाले सिंहको आवश्यकता रहेको बताइन् ।


