ललितपुर । ललितपुर महानगरपालिकाले सडक किनारमा रहेका भवनका भित्तामा पेन्ट गरि राखिएका प्रचार सामाग्री हटाउन थालेको छ।जथाभाबी राखिएका साइनबोर्ड, होर्डिङ बोर्ड, भित्तामा पेन्ट गरेर राखिएका प्रचार सामाग्री र पर्चा-पम्प्लेटले महानगरको सौन्दर्य बिगारेको भन्दै सोमबारबाट हटाउन सुरू गरेको हो।
ललितपुर महानगरपालिकाले नगर सफाइ अभियानअन्तर्गत केही समययता धमाधम साइनबोर्ड र होर्डिङबोर्ड हटाउन थालेको छ। जावलाखेल, एकान्तकुना, पुल्चोक र चक्रपथ किनारका घरमा राखिएका प्रचार सामाग्री मेटाउन थालिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए।
‘महानगरको योजना अनुसार आजबाट हामीले सडक किनारको घरका भित्ता पोतेर राखिएका प्रचार सामाग्री हटाएका हौ’, उनले भने,‘हामीले पूर्व जानकारी दिएर हटाएका हौ। केहीले जानकारी दिनासाथ आफैं मेटाउनुभयो भने केहीको महानगरले मेटेको हो।’
यसअघि ललितपुर महानगरपालिकाले चुरोट तथा सूर्तिजन्य र मदिराका प्रचार राखिएको होर्डिङबोर्ड हटाएको थियो। ‘घरका छत, सार्वजनिक स्थलमा राखिएका होर्डिङ बोर्डका साथै बिजुलीका खम्बा र भित्तामा टाँसिएका पर्चा हटाइरहेका छौं,’ उनले भने, ‘कुनै संस्थाले निजी घरको छतमा भाडा तिरेर र सार्वजनिक स्थानमा ब्यानर राखेर विज्ञापन गर्नु व्यावसायिक काम हो। यो कानुनविपरीत हो।’
महानगरले तोकेका स्थानमा भने शुल्क तिरेर विज्ञापन बोर्ड राख्न पाइने उनले जानकारी दिए।एउटा व्यवसायमा एउटा परिचय बोर्ड राख्न पाउने व्यवसायीको अधिकार सुनिश्चित छ। आफ्नो मात्र ब्रान्डको नाम मेटालिक, फ्लेक्स, पेन्ट वा डिजिटल जसरी पनि राख्न पाइने तर सडकसम्म आइपुग्ने गरी राख्न नपाइने उनले बताए।‘अस्वस्थ प्रतिस्पर्धा गरी सडकसम्म आइपुग्ने बोर्ड प्रतिबन्धित छ। होर्डिङ बोर्डपछि हामी त्यो पाटो अनुगमन गरिरहेका छौ,’ उनले भने।
भित्तेलेखन, पर्चा-पम्प्लेट, ब्यानर, स्टल डिस्प्ले, सार्वजनिक होर्डिङ बोर्ड, माइकिङ आदि महानगरका सार्वजनिक स्थानमा निषेध छन्।यस्तै महानगरले पैदल यात्रुलाई असर गर्ने गरि सडक किनारमा राखिएका भर्याङ पनि हटाएको छ।


