वीरगन्ज । वीरगंज उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यलय पर्साको संयुक्त आयोजनामा सोमबारदेखि वीरगंजमा ‘दशैँ सस्तो बजार २०७९’ संचालनमा आएको छ ।संघले प्रत्येक वर्ष दशैँको अवसरमा ‘दशैँ सस्तो बजार’ संचालन गर्दै आएकोमा यसवर्ष पनि निरन्तरता दिएको हो ।
वीरगंजस्थित टिबडेवाल धर्मशालामा संचालनमा आएको उक्त बजारको एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ ढकालले संघले आयोजना गरेको सस्तो बजारले वीरगंजलगायत समग्र पर्साबासीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले खासगरी सिमाक्षेत्रका उपभोक्ताहरुमा स्वदेशी उत्पादन प्रति आकर्षिण न्यून रहेको हुँदा उक्त सस्तो बजारले उपभोक्ताहरु स्वदेशी बस्तुहरु प्रयोग गर्नेतर्फ प्रेरित हुने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीउवासंघका अध्यक्ष डा. सुबोध गुप्ताले दैनिक उपभोग्य बस्तुहरु नेपालभन्दा भारतमा सस्तो पर्ने भएकोले नेपाली उपभोक्ताहरु भारतीय बजार जाने गरेको बताए । साथै स्वदेशी उत्पादन गुणस्तरिय नहुने मानसिकता उपभोक्ताहरुमा रहेको हुदाँ सोही मानसिकतालाई चिर्न आफूहरुले दशैँ सस्तो बजार संचालनमा ल्याएको बताए ।उपभोक्ताहरु सस्तोमा सामान पाइन्छ भन्दै दुःख गरेर भएपनि सिमापारीको बजार जाने गरेका छन् । चाडवाडको बेला मात्र नभई अन्यबेला समेत भारतको रक्सौल बजारमा वीरगंजलगायत पर्सा जिल्लाका उपभोक्ताहरु घुइँचो लाग्ने गरेको छ ।
दशैँलगायतको चाडवाडमा दैनिक उपभोग्य बस्तु बढी खपत हुने गरेकोले सस्तो मूल्यमा धेरैभन्दा धेरै सामाग्री खरिद गर्न भारतीय बजार जाने गरेकोले आफूहरुले नेपाली बजारभन्दा सस्तो मूल्यमा सस्तो बजार संचालनमा ल्याएको बताए । यसले उपभोक्ताहरुमा स्वदेशी बजारमा खरिद गर्ने बानी बस्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
सात दिनसम्म लाग्ने बजारमा दैनिक उपभोग्य बस्तुसहित १९ वटा स्टल राखिएको छ । उक्त बजारमा खाने तेल, चिनी, रियल जुसलगायत विभिन्न खाद्य सामाग्रीमा ५ देखि १५ रुपैयाँसम्मको छुट रहेको छ ।साथै नोबेल टेक्सटाईलस कम्पनीको सर्टिङ सुटिङको कपडा ६५० रुपैयाँमा बिक्री भइरहेको छ भने बाटिका स्याम्पु, कन्डिसनरमा बजार मूल्य भन्दा ५० प्रतिशत छुट दिइएको छ ।अध्यक्ष गुप्ताले बजारमा कुनैपनि उपभोक्तालाई ठगी गरेको पाईएमा तुरुन्तै स्टल हटाइने बताए ।


