नवलपरासीका खुँखार साहुकार जगदीश भारतबाट पक्राउ

नवलपरासी । नवलपरासीका २७ जनालाई ८७ लाख ऋण दिएर तीन करोड २० लाख उठाएपछि पनि दुई करोड २६ लाख बाँकी देखाउने खुँखार मिटरब्याजी साहुकार जगदीश कानु बानियाँ पक्राउ परेका छन् ।


नवलपरासी प्रतापपुर गाउँपालिका– ९ का ५५ वर्षीय जगदीशलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले सोमबार राति भारतबाट पक्राउ गरेको हो ।


सरकारले मिटरब्याज अपराध अध्ययनका लागि गठन गरेको उच्चस्तरीय कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले जगदीशलाई पक्राउ गरिएको बताए । ‘साहुकार जगदीश पक्राउ परेको सूचना मैले पाएको छु । यसको सबै अध्ययन तथा अनुसन्धान सिआइबीबाट भइरहेको छ । विस्तृत विवरण उहाँहरूले संकलन गर्नुभएको होला ।

अनुसन्धान प्रक्रिया निरन्तर अघि बढेको छ,’ उनले भने ।जगदीशलाई महाराजगन्जस्थित सिआइबीको हिरासतमा राखेर विशेष अनुसन्धान भइरहेको छ । मंगलबार नै सिआइबीले जगदीशविरुद्ध पाँच पीडितको उजुरी पनि लिएको छ । नवलपरासी प्रतापपुर गाउँपालिका– ५ की खुसुनुव नेसा र रामकेवल चमार, सुस्ता गाउँपालिका– ५ का रामसुभग मुसहर र जयप्रकाश कुर्मी तथा प्रतापपुर–२ का रामसुरत गुप्ताले उजुरी दिएका हुन् । उनीहरूले जगदीशविरुद्ध ५० लाख रुपैयाँ बिगो दाबी गरेका छन् ।

कुल २७ पीडितले सिआइबीमा पेस गरेको विवरणअनुसार जगदीशले २७ ऋणीलाई विभिन्न मितिमा ८७ लाख ७ हजार रुपैयाँ ऋण दिएकोमा तीन करोड २० लाख १३ हजार ८ सय असुलिसकेका छन् । तर, उनले कुनै पनि ऋणीको दृष्टिबन्धकमा राखिएको जमिन फिर्ता गरेका छैनन् । बरु उनीहरूसँग उल्टै थप दुई करोड २६ लाख ५० हजार मागेका छन् ।

दुई दिनमा तीन मिटरब्याजी पक्राउ

सोमबार राति साहुकार जगदीशसँगै अर्का साहुकार लालबहादुर खड्कालाई पनि सिआइबीले पक्राउ गरेको छ । काठमाडौं गोलढुंगाका लालबहादुरविरुद्ध नवलपरासी बर्दघाट नगरपालिका– १४ का मानबहादुर थापा र कुलबहादुर थापाले उजुरी दिएका छन् ।

उनीहरूले दृष्टिबन्धकमा रहेको आफ्नो जग्गा फिर्ता गर्न भन्दै उनीविरुद्ध उजुरी दिएका हुन् ।प्रहरीले शनिबार महोत्तरीका साहुकार अनिरुद्ध साहलाई उनकै निवासबाट पक्राउ गरेको थियो । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार उनीविरुद्ध १३ उजुरी तथा निवेदन दर्ता भएको छ । प्रहरीले उनीसँग ७१ लाखको जाली तमसुक पनि फेला परेको छ ।

सरकारले गठन गरेको मिटरब्याज अपराध अध्ययनसम्बन्धी उच्चस्तरीय कार्यदलका अनुसार साहुकारविरुद्ध सबैभन्दा धेरै उजुरी सर्लाहीमा परेका छन् । मंगलबारसम्म सर्लाहीमा मात्रै साहुकारविरुद्ध चार सय २७ उजुरी परेका हुन् । त्यसपछि सबैभन्दा धेरै उजुरी सिराहामा परेका छन् ।

सिराहामा मात्रै मंगलबारसम्म दुई सय ८९ उजुरी दर्ता भएको गृह मन्त्रालयको भनाइ छ । त्यस्तै, महोत्तरीमा एक सय ९१, धनुषामा एक सय ४०, सप्तरीमा एक सय १४ उजुरी परेका छन् । सबैभन्दा धेरै उजुरी पर्ने पाँचै जिल्ला मधेस प्रदेशका हुन् । साहुकारबाट गाउँ नै उठीबासमा परेको नवलपरासी पश्चिम र पूर्वमा पनि साहुकारविरुद्ध धेरै उजुरी परेका छन् । तथ्यांकअनुसार नवलपरासी पश्चिममा एक सय २ र नवलपरासी पूर्वमा ३५ उजुरी परेका छन् ।


चर्को ब्याजदरमा रकम लगाई सर्वसाधारणलाई उठीबास लगाउने काठमाडौं उपत्यकाभित्रका मिटरब्याजीविरुद्ध पनि उल्लेख्य उजुरी परेका छन् । गृहका अनुसार सबैभन्दा धेरै एक सय ४१ उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएका छन् । त्यस्तै, भक्तपुर र ललितपुरमा भने ६–६ वटा उजुरी परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..