कानूनको बेवास्ता गरेर सरकारले देशप्रति बेइमानी गर्‍यो : डा.रावल

काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले सरकार संविधानमा उल्लेखित कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको बताएका छन् । नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हीतमा नरहेको उल्लेख गर्दै यो संविधान विपरीत भएको बताएका हुन् ।

बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक देशमा विवाह हुनेबित्तिकै कोही पनि विदेशी नागरिकलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको भन्दै नेपालले ल्याएको संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने बताए । उनले अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व भएको पनि बताए ।

उनले भने, ‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ । देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ । तर विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ, त्यो हुनु हुँदैन । नागरिकता लिनलाई नेपालीसँग विवाह गर्ने महिलाले ७ वर्ष कुर्नुपर्छ भन्दा भारतबिरोधी काम भयो भन्न मिल्छ ? हरेक देशमा यति वर्षपछि भन्ने त कानून छ ।’

उनले थपे, ‘अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व हुन् । नागरिकताको बारेमा संविधानमा उल्लेखित गर्दा दिएको वचनबाट पछि हट्नु भनेको देशप्रतिको बेइमानी हो । संसारमा कुनैपनि देशले नागरिकतालाई खुकुलो बनाउँदैन । तर नेपाल यति धेरै ठूलो जनसंख्या भएका देशका बीचमा बसेर खुकुलो बनाइरहेको छ ।’

नेता रावलले नेपालले आफ्ना सीमानामा नियमन गर्न आवश्यक रहेको बताए । उनले नेपालीहरुले अन्तर्राष्ट्रिय कानूनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको बताए । नेता रावलले सुस्ता, कालापानी, सन्दुकपुर लगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा परेको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्याको समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको बताए ।

उनले सीमा रक्षाको कुरामा गठबन्धन सरकार संवेदनशील नरहेको आरोप लगाए । कालापानीमा विदेशी फौज आएर बुलडोजर चलाउँदा समेत सरकार मौन रहेको आरोप लगाए । उनले भने, ‘नेपालमात्रै यस्तो देश हो, जसले संसारका सबैभन्दा ठूला र सबैभन्दा बढी जनसंख्या भएको देशको बीचमा रहेर न सन्धीबाट तय भएको, न कुनै कानूनबाट तय भएको कुनबेलाको कुन शासकको सनकको भरमा हाम्रो सीमानालाई अन्तर्राष्ट्रिय कानून बमोजिम नियमन गरिएको छैन । हामीले नियमन गर्ने कुरा भारतप्रति द्वेष राखेको होइन । जसरी भारतले बंगलादेश सँगको सीमानालाई काँडेतार लगाएको छ, हामी नेपालीहरुले अन्तर्राष्ट्रिय कानूनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी छ ।’

उनले फेरि भने, ‘सीमानाका सुस्ता, कालापानी, सन्दुकपुर अतिक्रमणमा परेको छ । ७७ भन्दा बढी ठाउँका सीमाना अतिक्रमणमा परेका छन् । हाम्रो सीमा समयमा नै नियमन नगर्ने हो भने मनमोहन नेतृत्वको सरकारले भारतसँग कतिपय कुरा समयानुसार हुनुपर्छ भनेर राख्दा भारतले स्वीकारेका थियो ।

तर मलाई आश्चर्य लाग्छ, २०५१/५२ को नेकपा एमालेको अल्पमतको सरकारले त त्यति कुरा उठाएको थियो भने अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले किन कुरा नउठाएको ? सीमानाको रक्षाका कुरामा किन बौल्दैनन् ।

उहाँहरु संवेदशील हुनुहुन्न । कालापानीमा विदेशी फौज आएर मातृभूमिको छातिमाथि बुलडोजर चलाउँदा किन नबोलेको ? यो प्रश्न हरेक नेपालीले राजनीतिक दलका नेतालाई सोध्नुपर्छ, सीमानामा केही भयो भन्ने कुरा आएको थियो । परराष्ट्रमन्त्री चीन भ्रमणमा हुनुहुन्छ, त्यहाँ वार्ता गर्नुस् र चीनसँग सीमाका बारेमा केही विवाद भएको हो वा होइन, नेपाली जनतालाई खबर दिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..