चितवन । नेकपा माओवादी केन्द्रको चितवन जिल्ला समितिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि चितवनबाटै आम निर्वाचनमा उम्मेदवार बन्नुपर्न निर्णय गरेको छ ।
जिल्ला कार्यालय समितिको विस्तारित बैठकले प्रचण्डलाई चितवन-३ बाटै जिताउन तयारी गर्ने निर्णय गरेको माओवादी केन्द्र चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीले बताए । प्रचण्डलाई भारी मतले जिताउन तयारी गर्ने निर्णय समेत भएको उनले बताए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड चितवन-३ बाट निर्वाचित भएका थिए । जिल्ला संयोजक अधिकारीले यस पटक पनि प्रचण्ड चितवन-३ बाटै उम्मेदवारी दिने दाबी गरे । अन्त जाने कुरा हल्ला मात्रै भेएको उनले बताए ।
प्रचण्डले २०६४ को संविधानसभा चुनावमा रोल्पा–२ र काठमाडौं–१० दुबै क्षेत्रबाट चुनाव जितेका थिए । २०७० को दोस्रो संविधानसभामा उनी काठमाडौं-१० र सिरहा-५ बाट उठेका थिए । तर, काठमाडौं-१० बाट पराजित भए । २०७४ मा भने प्रचण्ड चितवन-३ बाट निर्वाचित भए ।


