काठमाडौं । वर्षासँगैको बाढी र पहिरोका कारण हालसम्म मुलुकभर ३५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परेर जेठ तेस्रो सातायता ३५ जनाको मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । बाढीपहिरोमा परेर ३९ जना घाइते भएका छन् । तीन जना अझै बेपत्ता रहेको उनले बताए ।
भट्टराईका अनुसार बाढीपहिरोका कारण ८२ घरमा पूर्ण र ६४ वटा घरमा आंशिक क्षति पुगेको छ । सरकारले मृतकका परिवारलाई राहत स्वरूप दुई लाख रूपैयाँ र घरबारविहीन बनेको परिवारलाई पुर्नस्थापनाका लागि १५ हजार रूपैयाँ प्रदान गर्दै आएको छ । बाढीपहिरो तथा डुबानजस्ता प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरण एवम् उद्धारका लागि नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ ।
यसैबीच आइतबारदेखिको निरन्तरको वर्षाका कारण पहाडी र तराई क्षेत्रमा ४३ जिल्ला बाढीपहिरो तथा डुबानको चपेटामा परेका छन् । सोमबार राति गएको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–२ मा दुईवटा घर पहिरोमा पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर घामबहादुर विक, उनकी श्रीमती राममाया, छोराहरू नवीन र राजन तथा छोरी अस्मीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते भएका गोठे विक र श्रीमती गोरी विकको रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
कपिलवस्तुमा वाणगङ्गा नदीले तीन जनालाई बगाएको छ ।
बगाएकामध्ये एक जनाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिका–९ की राममाया सुनारको मृत्यु भएको हो । उनका पति दिलकुमार सुनार बेपत्ता भएका छन् । छोरालाई भने सकुशल उद्धार गरिएको छ ।


