नेपाल प्रहरी संगठनको स्थायित्वका लागि ३० वर्षे हद खारेज गर

नेपाल प्रहरी जस्तो संवेदनशील सुरक्षा अंग, जो नेपालका हकमा शान्ति सुरक्षा तथा अपराध अनुसन्धान गर्ने निकाय मात्र होइन, कानुन कार्यान्वयनको प्रमुख संयन्त्र पनि हो

आलोक यादव / काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रमुखमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको करिब ३ महिना पुगेको छ । कतिपय प्रहरी अधिकृत र राजनीतिक शक्ति उनको दिनगन्ती गर्न थालिसकेका छन् । किनभने मौजुदा प्रहरी नियमावलीअनुसार उनले एक वर्ष पनि काम गर्न पाउने छैनन् । आउँदो चैतमा ३० वर्षे सेवा अवधिको हदका कारण अवकाश पाउनेछन् ।

प्रहरीजस्तो संवेदनशील सुरक्षा अंग, जो नेपालका हकमा शान्ति सुरक्षा तथा अपराध अनुसन्धान गर्ने निकाय मात्र होइन, कानुन कार्यान्वयनको प्रमुख संयन्त्र पनि हो । राज्यको हरेक भूगोल र हरेक नागरिकसम्म पुग्न सक्ने एक मात्र सरकारी निकाय पनि प्रहरी नै हो । यति महत्त्वपूर्ण निकायलाई तदर्थ शैलीमा चलाइएको छ । एकातिर राजनीतिक हस्तक्षेप, अर्कोतिर नेतृत्वमा अस्थिरता । आफै अनिश्चय र अस्थिरताले गाँजेको संगठनले कसरी मुलुकमा शान्ति सुव्यवस्था र स्थायित्व कायम गराउँछ ? प्रश्न स्वाभाविक छ ।

तीव्र राजनीतिक चलखेल र संगठनभित्रैका अनेकन लुकामारी एवं छक्कापञ्जाका बीच नेपाल प्रहरीले अहिले संयोगवश कुशल एवं व्यावसायिक नेतृत्व पाएको छ । २०४९ चैतमा प्रहरी सेवामा निरीक्षकका रूपमा प्रवेश पाएका सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखामा छँदा गम्भीर र जटिल अपराधको रहस्य पत्ता लगाएर चर्चामा आएका थिए । पर्सा र दाङ जिल्लाको प्रहरी प्रमुख र मधेस प्रहरीको नेतृत्व सम्हाल्दा पनि उत्कृष्ट व्यावसायिकता प्रदर्शन गरेका थिए ।

अहिले देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदा पनि विगतमा भन्दा बढी शान्तिपूर्ण तवरमा सम्पन्न भएको छ । यसपालि प्रहरीबाट हिंसा र दमनका घटना निकै कम हुनुमा पनि नेतृत्वको कार्यकुशलताको परिणाम हो । नत्र भने अहिलेसम्मका कुनै पनि चुनाव रक्तपातविहीन भएका छैनन् । चुनावका दौरान मात्र होइन, चुनावअघि र पछि पनि ठूल्ठूला मानवीय क्षति भएको विगतको अनुभव छ ।

त्यसको तुलनामा यसपालिका छिटपुटबाहेक कतै पनि प्रहरीको काबुबाहिर जाने घटना भएनन् । विगतमा जस्तो प्रतिपक्षी आतंकित हुने गरी प्रहरीको परिचालन पनि भएन । यसले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता झन् बढाएको छ ।

नेपाल प्रहरीमा यो तहको अनुभवी र व्यावसायिक कुशलता भएको नेतृत्व विरलै पाइन्छ । अहिले विभिन्न शक्तिकेन्द्र धाउने र स्वार्थ समूहले चलखेल गर्ने कारण पनि योग्य एवं इमानदार अधिकृत प्रहरीको नेतृत्वमा पुग्ने अवसर नै पाउँदैनन् भन्दा हुन्छ । तर सिंह यस्ता विरलाकोटिका महानिरीक्षक भएका छन्, जो योग्य, इमानदार एवं व्यावसायिक निष्ठा एवं प्रतिबद्धतामा अगाडि छन् ।

अब संगठनलाई थप व्यावसायिक बनाउन र स्थायित्व सुनिश्चित गर्न ३० वर्षे सेवाअवधिको हद तत्काल हटाउन जरुरी छ । कुनै पनि सेवामा कर्मचारी स्वयंले अवकाश रोजेको अवस्थामा बाहेक कसैले कति वर्ष सेवा गर्‍यो भन्ने आधारमा अनिवार्य अवकाशमा पठाउनुको कुनै औचित्य पनि देखिँदैन । जब उमेरले ५८ वर्षमै निवृत्त हुने व्यवस्था छ भने सेवाअवधिको हद किन ? अझ उपल्ला तहमा पदावधिको पनि हद छँदै छ । त्यसैले सरकारी स्रोत साधन र संगठनले निकै ठूलो लगानी गरी हुर्काएको जनशक्तिलाई उर्जावान् समयमै घर पठाउनु कुनै पनि कोणबाट उचित छैन । त्यसैले ३० वर्षे सेवा अवधि हटाउनुपर्छ । यसो हुँदा महानिरीक्षक सिंहसहित उपल्लो तहमा रहेका अधिकृतहरु अरु तीन वर्ष काम गर्न पाउनेछन् । उनीहरुको योग्यता र अनुभवबाट राज्यले लाभ लिन सक्नेछ । अर्थात् उनीहरुमाथि गरिएको लगानीको प्रतिफल राज्यले लिन पाउनेछ ।

यो भन्दा पनि महत्त्वपूर्ण– नेपाल प्रहरीजस्तो संगठनको नेतृत्व म्यादी ३ महिना, ६ महिना वा एक वर्षमै अवकाशमा जाने अवस्थाको अन्त्य गरिनुपर्छ । यो अवस्था रहेसम्म यो संगठन कहिले स्थिर र व्यावसायिक रहन सक्ने छैन । एउटा नेतृत्वले कम्तीमा तीन वर्ष काम गर्न पाउनैपर्छ । पहिलो वर्ष योजना र कार्यक्रम ल्याउने, दोस्रो वर्ष समीक्षा गर्ने अनि तेस्रो वर्ष नतिजासहितको उपलब्धि देखाउने । यसो भएमा नेतृत्व बढी जिम्मेवार पनि हुनेछ ।

केही दिनका लागि आउने नेतृत्वले न आफ्नो कार्य प्रकृति अध्ययन गर्न पाएको हुन्छ, न त कुनै विशेष नीति र कार्यक्रम नै ल्याउन र लागू गर्न सक्छ । केवल फुली थाप्ने, फोटो झुन्ड्याउने र अवकाशपछि ठूलो सेवा सुविधा खपत गर्ने जनशक्ति विकास गरेर मात्र प्रहरी संगठनको भूमिका पूरा हुँदैन ।

त्यसैले यसतर्फ सरकारले गम्भीरतापूर्वक सोचविचार गरी प्रहरी नियमावली संशोधन गरी ढुक्कसँग तीन वर्ष प्रहरी सञ्चालन गर्ने अवसर महानिरीक्षक सिंह र उनको टिमलाई प्रदान गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..