काठमाडौं । सडक विभाग र भवन विभागदेखि सिंचाईका आयोजनाहरुमा मात्र असारे विकास हुन्छ, असारमा करोड, अरब रुपैयाँ भुक्तानी हुने गर्दछ । असारमा भुक्तानी हुने कार्यालयमा सडक र भवन विभाग वा विकास आयोजनाहरुमात्र छैनन्, अस्पतालमा समेत बीसौं करोड भुक्तानी हुने गरेको छ ।
देशको सबैभन्दा पुरानो अस्पतालका रुपमा चिनिने वीर अस्पतालमा असार मसान्तमा ६० करोड रुपैयाँ भुक्तानी भएको छ । वीर अस्पतालका लेखा शाखा, खरिद इकाईका केही कर्मचारी र स्टोरका कर्मचारीले उपकरण र नियमित स्वास्थ्य सामग्री खरिदको ६० करोड भुक्तानी दिने क्रममा माथि बुझाउनुपर्छ भनेर ब्यापारीसँग ५ प्रतिशत घुस असुली गरेका छन् । खरिद इकाईकै कर्मचारी स्रोतका अनुसार स्वास्थ्य सचिव डा. रोशन पोखरेल र र वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतलाई बुझाउनुपर्छ भनेर ५ प्रतिशत घुस असुली गरेको आरोप छ । जुन घुस सचिव र निर्देशकलाई नदिई लेखाका प्रमुख लोकबहादुर बोहरासहित बेरुजु शाखा प्रमुख भगवती थपलियाले भागशान्ति गरेको आरोप छ ।
६० करोड बराबरको स्वास्थ्य सामग्री र उपकरण खरिदमा लेखा, खरिद र स्टोरका कर्मचारीले माथि बुझाउनुपर्छ भनेर घुस असुली गरेको सूचना स्वास्थ्य सचिव र निर्देशकसम्म पुगेको छ । वीरमा माथिको नाम लिंदै कमिसन लिएकोबारेमा सचिव पोखरेलले चासो राखेका छन् ।
उपकरण खरिद र असार मसान्तमा ६० करोड भुक्तानीका क्रममा कमिनसनको चलखेलका बारेमा स्वास्थ्य सचिवले जानकारी पाएपछि प्रशासन समूहका कर्मचारीको सरुवा गर्ने तयारी गरेका छन् । आगामी साउन १२ गते वीर अस्पतालको बार्षिकोत्सवपछि कमिसनखोर कर्मचारीहरुको सरुवा गर्ने निष्कर्षमा सचिव पोखरेल पुगिसकेको स्रोतले बतायो ।
वीर अस्पतालको खरिदको भुक्तानीका क्रममा भएको कमिसनको चलखेलका बारेमा संघीय मामिला तथा सामान्य प्रशासन सचिव सुरेश अधिकारीकोमा समेत उजुरी परेको छ । सामान्य प्रशासन मन्त्रालयले वीर अस्पतालमा कार्यरत प्रशासन समूहका कर्मचारीलाई सरुवा गर्ने तयारी गरेको छ । लेखाका कर्मचारीको पनि महालेखा नियन्त्रकले सरुवाको तयारी गरेको छ । तर बोहरा भने सरुवा रोक्न महालेखा नियन्त्रक कार्यालयका उच्च अधिकारीलाई प्रभावमा पार्न लागिरहेका छन् ।
वीर अस्पतालको खरिदमा कति धेरै अनियमितता भएको छ भन्ने दृष्टान्त हो, क्याथ ल्याब र ओटी टेबल । मिल्दै नमिल्ने स्पेसिफिकेसनका आधारमा टेण्डर स्वीकृत गरी करोडौं अनियमितता गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डा. समीर अधिकारीसहितको टोलीले खरिदमा अनियमितता गरेको उजुरीमा उल्लेख छ ।


