मोरङ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २७ वर्षीय ‘तिखे’ भनिने सुरज शाक्यलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत मोरङले शाक्यलाई २०७८ मंसिर २५ गते ५ वर्ष कैद सजायको फैसला गरेको थियो ।
अदालतले दोषी ठहर गरे पनि फरार रहेका उनलाई गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।
राईका अनुसार पक्राउ गरेर प्रहरीले बुझाएपछि शाक्यलाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।


