काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाव दिने निर्णय गरेको हो ।सचिवालयको बैठकको निर्णयलाई नै लिएर अध्यक्ष माधवकुमार नेपाल बालुवाटारस्थित आयोजना भएको पाँच दलीय गठबन्धनमा सहभागी भएको पनि बताइएको छ । अध्यक्ष नेपालले सचिवालयको बैठकअनुसार नै गठबन्धनको बैठकमा मन्त्री हेरफेरको प्रस्ताव राख्ने भनिएको छ ।
यसअघि नै एकीकृत समाजवादीले देउवा सरकारमा बहालवाला मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने प्रस्ताव बालुवाटार लगिसकेको छ भने नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई नयाँ मन्त्री बनाउन सिफारिस गरिसकेको छ ।
यस्तै, स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्न पनि यसअघि नै प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले निर्णय गरेको छ ।


