काठमाडौं। सरकारले मासिक १० करोड भन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम २ देखि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत बजेटको यो घोषणाबाट कति उद्योग लाभान्वित होलान् ?
नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार तत्कालका लागि दुई उद्योगले मात्रै यो छुट पाउँछन्। प्राधिकरणका अनुसार जगदम्बा स्टील र सर्वोत्तम स्टीलले मात्रै १० करोड रुपैयाँ भन्दा बढी बिजुली खपत गर्छन्।
यी दुबै उद्योगको मेल्टिङ युनिट छ।स्पन्ज आइरन ल्याएर यी उद्योगले बिलेट समेत पाउँछन्। यी दुई उद्योग वाहेक सिमेन्ट उद्योगले समेत यो छुट पाउनसक्ने अवस्था छैन्। दैनिक ६ हजार टन सिमेन्ट र क्लिंकर उत्पादन गर्ने चिनियाँ संयुक्त लगानीको होङ्सीको मासिक बिजुली खपत ७ करोड रुपैयाँको मात्रै छ।
शिवम सिमेन्टको वार्षिक प्रतिवेदनमा बिजुलीको खपत ४४ करोड रुपैयाँको मात्रै छ। अर्घाखाँची सिमेन्टको मासिक ४ करोडको हाराहारीमा छ भने अरु स्टील उद्योगको पनि चार/पाँच करोड रुपैयाँ मात्रै छ।उत्पादनमूलक उद्योगले बिजुली छुटका लागि अर्थमन्त्री शर्मासँग आग्रह गरेका थिए। त्यसमा सिमेन्ट, डन्डी र धागो उद्योग थिए।


