प्रहरीले निर्घात कुटपिट गरेको आरोप

धनकुटा । प्रहरीको कुटपिटबाट धनकुटाको सहिदभूमि गाउँपालिका ६ का एक व्यक्ति गम्भीर घाइते भएको स्थानीयले आरोप लगाएका छन् । कुटपिटको घटनाका आरोपितलाई नियन्त्रणमा लिन चार जनाको संख्यामा गएका प्रहरीले सहिदभूमि ६ माङ्तिन गाउँका ३३ वर्षीय निरन साङ्सनुन राईलाई निर्घात कुटपिट गरेको स्थानीयले जनाएका छन् ।

मंगलबार बेलुकी भएको घटनामा घाइते राईको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ । राति नै धनकुटा जिल्ला अस्पताल ल्याइएका घाइतेको उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले भाग्ने क्रममा राई घाइते भएको दाबी गरे । घटनामा प्रहरीको संलग्नता रहे/नरहेकोबारे डीएसपी चिरञ्जिवी दाहालको नेतृत्वमा घटनास्थल पुगेर छानबिन गरिने उनले बताए ।

घरमा रहेका राईलाई दुईवटा मोटरसाइकलमा गएका चार जना प्रहरीले नियन्त्रणमा लिएर लाठी र बुट प्रहार गरेको घटनाका प्रत्यक्षदर्शीले दाबी गरेका छन् । घाइते राई एमालेको युवा संगठन राष्ट्रिय युवा संघका जिल्ला सदस्य राई हुन् ।


स्थानीय तह निर्वाचनमा आयोजित विजयी र्‍यालीका क्रममा गत ८ गते कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको आरोपमा राईलगायत १३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनलाई पक्राउ गर्न सहिदभूमि गाउँपालिकास्थित आँखिसल्ला प्रहरी चौकीबाट वरिष्ठ हवल्दार पुष्कर कार्कीसहित चार जना पुगेका थिए । प्रहरीलाई देख्नासाथ राई भागेकाले आफैं लडेर घाइते भएको कार्कीले बताए । तर, प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । घटनामा संलग्न प्रहरीविरुद्ध कारबाहीका लागि प्रहरीमा उजुरी गरिएको एमाले जिल्ला अध्यक्ष ईन्द्रमण पराजुलीले बताएका छन् ।
कांग्रेस र एमाले आरोप प्रत्यारोपमा
स्थानीय तह निर्वाचनपछि एमाले र कांग्रेस आरोप प्रत्यारोपमा उत्रिएका छन् । सहिदभूमि गाउँपालिकामा कांग्रेसले आफ्ना कार्यकर्तामाथि एमाले कार्यकर्ताले कुटपिट गरेको भन्दै विरोध जनाएको छ ।

कांग्रेस कार्यकर्ता डगेन्द्र राई, बलिमाया राई, कुशल राई, निरबहादुर राईलगायत माथि एमाले कार्यकर्ताले कुटपिट गरेको कांग्रेस जिल्ला समिति सचिव विजयसन्तोषी राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।उता, घटनामा आफ्ना कार्यकर्ताको हात नरहेको एमालेले दाबी गरिरहेको छ । घटनामा संलग्न भए/नभए अनुसन्धान गर्नुपर्नेमा नियन्त्रणमा लिएका व्यक्तिलाई मरणासन्न हुनेगरी कुटपिट गर्न नहुने एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..