अहिलेसम्म १३ हजार जनप्रतिनिधि चुनिए : निर्वाचन आयोग

काठमाडौँ । स्थानीय तह निर्वाचनबाट हालसम्म निर्विरोधसहित १३ हजारभन्दा बढी उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म निर्विरोधसहित १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको जानकारी दिए ।

तीमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएका छन् । वडाध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ जना निर्वाचित भएको प्रवक्ता शर्माले जानकारी दिए । आयोगले देशभर १३० वटा स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको जनाएको छ ।

आयोगका अनुसार विभिन्न कारणले मतदान स्थगित भएका ठाउँमा सोमबार मतदान भएको छ । धनकुटाको शहीदभूमि गाउँपालिका–६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनि गाउँपालिका–५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका–१ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका–३ को भगवती मा.वि.मा सोमबार मतदान भएको प्रवक्ता पौडेलले बताए ।

त्यस्तै, बझाङको केदारस्यु गाउँपालिका–४ को जगन्नाथ उच्च मा.वि., बझाङको सुर्मा गाउँपालिका–२ को आधार बगर मा.वि. र बझाङको सुर्मा गाउँपालिका–३ कृष्ण प्रा.वि. मतदान केन्द्रमा पनि सोमबार शान्तिपूर्णरुपमा मतदान भएको आयोगले जनाएको छ ।

प्रवक्ता पौडेलले आयोगले भयरहित र शान्तिपूर्ण बातावरणमा देशभर निर्वाचन सम्पन्न गराएको दाबी गरे ।‘आयोगको दृष्टिमा सबै दल बराबर हुन्छन् । कोही काखापाखा हुँदैनन् ।निर्वाचन आयोगको संवैधानिक जिम्मेवारी नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने नै हो ।

त्यो भनेको मत गणना गरेर परिणाम ल्याउने बेला सम्मकै ड्युटी हो । त्यो विषयमा आयोग कहीँ पनि चुकेको छैन । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउने कुरामा आयोग दृढ छ । र कहिँ चुकेको छैन,’ प्रवक्ता पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..