कञ्चनपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्य पार्टीको चुनावी अभियान देउसी जस्तै भएको टिप्पणी गरेका छन् । बिहीबार बेलौरीको खुल्ला मञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेबाहेक अन्य दलको घरदैलो अभियान देउसी जस्तै भएको बताएका हुन् ।
‘अरुले आफ्नो हैसित अनुसारका कार्यक्रम गरिरहेका छन् । एमालेबाट छुटिएको नेताले टर्च बालेर खोज्नु पर्छ भन्यो । बेलौरीमा यत्रो सभा देखेन्’, उनले भने, ‘बैशाख ३० गतेपछि तिनीहरुलाई कसले टर्च बालेर खोज्नुपर्छ देखाउँछौं । सुदृढ राजनीतिक शक्ति एमाले हो ।’
एमाले महिला जिम्मेवारी दिदै प्रमुख, अध्यक्षमा उम्मेदवार बनाएको उनको भनाइ छ । ‘यस पटक महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएका छौं । अध्यक्ष पदमा पनि महिलाहरुलाई उठाएका छौं’ उनले भने ।
त्यस्तै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरीलाई आफ्नै छोरी भनेर मत मागिरहेको पनि बताए ।
कैलालीमा श्रीमतीलाई जिताउनुपर्ने र चितवनमा नक्कली छोरीलाई आफ्नै भनेर भोट हाल्नुपर्ने बाध्यता सभापति देउवालाई रहेको उनले टिप्पणी गरे ।
एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अन्तर्राष्टिय सम्बन्ध सुधारमा र मूलकको विकासमा एमाले महत्वपूर्ण काम गरेको बताए ।


