कांग्रेसबाट ६ सय २३ जनाको उम्मेदवारी फिर्ता

काठमाडौं । पार्टी निर्देशनपछि नेपाली कांग्रेसका असन्तुष्ट ६ सय २३ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसप्रवक्ता डा. प्रकाशशरण महतले कतिपय असन्तुष्टले भने वक्तव्यमार्फत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने घोषणा गरेको जानकारी दिए ।

नेपाली कांग्रेसका अनुसार उम्मेदवारी दर्ता गरेका तीन नगरपालिकाका मेयर, १० गाउँपालिकाका अध्यक्ष, १७ उपमेयर, १९ गाउँपालिका उपाध्यक्ष, ८९ वडाध्यक्ष, ९९ महिला सदस्य, एक सय १२ दलित महिला सदस्य र दुई सय ७४ सदस्यका उम्मेदवार छन् । 

निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार उम्मेदवारी फिर्ताको कार्यसूची थियो । कांग्रेसले पार्टी निर्णयविपरीत उम्मेदवारी दर्ता गराएकालाई फिर्ता लिन निर्देशन दिँदै अवज्ञा गरे स्वतः पार्टीबाट निष्कासनमा पर्ने स्पष्ट गरेको थियो । सोहीअनुसार विभिन्न पदका लागि दिएका उम्मेदवारी फिर्ता भएका हुन् ।

त्यसैबीच, निर्वाचनका लागि पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दर्ता भएको कांग्रेसले जनाएको छ । महतका अनुसार दुई सय ६५ नगरपालिकामा मेयर, तीन सय ७२ गाउँपालिकामा अध्यक्षले मनोनयन गरेका छन् । यसैगरी, एक सय ९४ उपमेयर र तीन सय ४० उपाध्यक्षले मनोनयन दर्ता गरेको कांग्रेसले जनाएको छ । यस्तै, कांग्रेसबाट ६ हजार ४३ वडाध्यक्ष, पाँच हजार नौ सय ३८ महिला सदस्य, पाँच हजार ६ सय ९१ दलित महिला सदस्य र ११ हजार सात सय ८८ अन्य सदस्यले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसैबीच, पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने बागी उम्मेदवारलाई कांग्रेसले कारबाही नगर्ने भएको छ । प्रवक्ता महतले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकालेर प्रचारमा गएमा विधानको व्यवस्थाअनुसार कारबाही नहुने सुनिश्चितता गर्ने बताए ।

‘विधानले स्पष्ट रूपमा पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिनेलाई स्वतः निष्कासित हुने व्यवस्था गरेको छ । तैपनि प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन नसकेकाले पार्टीको निर्देशन मानेर वक्तव्यमार्फत फिर्ता लिने र पूरै समर्पित भएर आधिकारिक उम्मेदवारको प्रचारमा गएमा उहाँहरूलाई कारबाही लागू नहुने हामी सुनिश्चित गर्छौँ,’ उनले भने ।

  • तालमेल ठीक छ, सफल भएको छ : प्रबक्ता डा. प्रकाशशरण महत

तालमेल गरिएका ठाउँमा अधिकांश साथीले पार्टी निर्णय स्वीकार गरेर पार्टीको बृहत्तर हितमा काम गर्नुभएको छ । अपवाद ठाउँमा बाहेक सबैले पार्टीको निर्णय स्विकारेको अवस्था छ । तालमेल बृहत्तर हितका लागि गरिएको हो । धेरैलाई लागेको थियो– तालमेल सफल हुन सक्दैन, धेरै ठूलो विद्रोह हुन्छ । त्यस्तो अवस्था आएन । बृहत्तर रूपमा हेर्ने हो भने तालमेल ठीक छ, सफल भएको छ । गठबन्धनले देशलाई ठीक बाटोमा अगाडि बढाइरहेको छ भन्ने महसुस सबैले गरेका छन् । जहाँ विद्रोही उम्मेदवार हुनुहुन्छ, उहाँहरू गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनु हुनेछ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..