काठमाडौं । नेकपा (माओवादी केन्द्र), सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक असिम राईले माओवादी केन्द्र ‘कमजोर हुनु भनेको समग्रमा सबैको मुद्दा कमजोर हुनु’ भएको बताएका छन् । आइतबार कोटेश्वर पेरिसडाँडामा आयोजित शुभकामना आदान–प्रदान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले भनेका छन्, ‘माओवादी केन्द्र कमजोर हुनु भनेको समग्रमा सबैको मुद्दा कमजोर हुनु हो ।’
त्यस्तै उनले माओवादी केन्द्र कमजोर हुनु भनेको उपेक्षित समुदाय कमजोर हुनु भएको बताएका छन् । थुलुङ दूकोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका राईले मुलुक माओवादी केन्द्रकै एजेन्डाबाट अघि बढिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘अहिले तपाईहरूले हेर्नुभयो भने माओवादी पार्टीले स्थापित गरेको एजेन्डाबाट मुलुक हिँडिरहेको छ, अघि बढिरहेको छ । संघीयता, धर्मनिरपेक्षता, समावेशितालगायतका एजेन्डा र विचार माओवादी पार्टीले अघि सारेपछि अहिले हाम्रो मुलुक यहीबाटै अघि बढिरहेको छ ।’
यसका साथै अध्यक्ष राईले माओवादी पार्टी कमजोर हुनु भनेको ‘प्रचण्ड’ कमजोर हुनु मात्र नभएको उल्लेख गर्दै भनेका छन्, ‘माओवादी पार्टी कमजोर हुनु भनेको दलितको मुद्दा कमजोर हुनु हो । आदिवासी जनजातिको मुद्दा कमजोर हुनु हो । अनि समग्रमा उपेक्षित समुदायको मुद्दा कमजोर हुनु हो ।’

त्यस्तै माओवादी पार्टीले संविधानमाथि धावा बोल्नेहरूको डटेर सामना गर्दै आएको उल्लेख गर्दै उनले थप भनेका छन्, ‘माओवादी पार्टीले यो व्यवस्था, प्रणाली र संविधानमाथि धावा बोल्नेहरूको डटेर सामना गर्दै आएको छ । अब आसन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादीले बहुस्थानमा जित्यो भने नेपालीहरूको भविष्य सुरक्षित हुनेछ ।’
कार्यक्रमको सोही अवसरमा एमाले, कांग्रेस, जसपालगायतका दल परित्याग गरेका मदन राई, किताबसिंह तामाङ, गीताबहादुर कार्कीलगायत ६७ जना नेता–कार्यहरूलाई पनि अध्यक्ष राईले पार्टीमा स्वागत गरेका थिए ।



