काठमाडौं । रिपोर्टर्स क्लब नेपालले पत्रकारद्वय किशोर नेपाल र कुबेर चालिसेलाई जनही एक लाख रुपैयाँ राशीको पुरस्कारबाट सम्मान गर्ने भएको छ ।
नेपाललाई कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट र चालिसेलाई तेजेन्द्र-सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको हो । क्लबले पहिलो पटक प्रदान गर्न लागेको यो पुरस्कारको राशी जनही एक लाख रुपैयाँ छ ।
क्लबको २४औं वार्षिकोत्सवको अवसरमा यही चैत १७ गते काठमाडौंमा आयोजना गर्ने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट पुरस्कार वितरण गरिने रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले बताए ।
यस्तै, पचास हजार रुपैयाँ राशीको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका कुलचन्द्र न्यौपानेलाई र चालीस हजार रुपैयाँ राशीको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार अनलाइनखबर डटकमका विनोद घिमिरेलाई प्रदान गर्ने निर्णय भएको छ ।
जनही पच्चिस हजार रुपैयाँ राशीका वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका सुरेश यादव, शहीद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार राससका कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमापोष्ट अनलाइनका नवराज न्यौपाने, उमासिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी टेलिभिजनकी सिर्जना घिमिरे र बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार राससका रोशन सापकोटालाई प्रदान गर्ने निर्णय भएको छ ।
त्यस्तै, प्राइम टाइम्स टीभीका पत्रकारद्वय बालकृष्ण गौतम र डेबिड पाण्डेलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरिने रिपोर्टर्स क्लबले जनाएको छ ।


