चीनसँग भएका रेलवे परियोजनादेखि राजमार्ग मर्मतसम्मका ९ ओटा सम्झौता

काठमाडौं । यसैबीच, नेपाल–चीनबीच काठमाडौं–केरुङ रेलवे परियोजनाको सम्भाव्यता अध्ययनदेखि अरनिको राजमार्ग मर्मतसम्मका ९ ओटा सम्झौता भएको छ । चिनियाँ विदेश मन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काको उपस्थितिमा ती परियोजनाबारे छुट्टाछुट्टै सम्झौता भएका हुन् ।

आर्थिक तथा प्राविधिक सहयोग, चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन, नेपाल–चीन पावर ग्रीड इन्टर–कनेक्सन सम्भाव्यता अध्ययन, सुरक्षित रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्ने लगायत सम्झौता भएका छन् ।

त्यस्तै, चीनमा निर्यात हुने ९८ वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमय पत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मत सम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ का लागि चीन सहायताअन्तर्गत पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप आपूर्ति हुने पनि सम्झौता भएको छ ।

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउने सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको अर्थ मन्त्रालयले बताएको छ ।

आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी तथा नेपाल–चीन अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि चीनकी राजदूत होउ यान्छीले हस्ताक्षर गरे । नेपाल–चीन पावर ग्रीड इन्टर–कनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की र राजदूत होउले हस्ताक्षर गरे ।

सुरक्षित रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा पशुपक्षी विकास सचिव निरु दाहाल र चिनियाँ राजदूतले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, चीनमा निर्यातका लागि ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमय पत्रमा वाणिज्य सचिव गणेशप्रसाद पाण्डे र चीनको वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङले हस्ताक्षर गरे । अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणसम्बन्धी दस्ताबेजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सहसचिव शेङले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..