विराटनगर । एक महिला प्रहरीको ज्यान जानेगरी मोरङमा आइतबार भएको झडपपछि प्रहरीले सोमबार बिहान पाँच जनालाई पक्राउ गरेको छ । पाँच जनालाई पक्राउ गर्नुका साथै प्रहरीको खानतलासी र अनुसन्धान जारी रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
विद्यार्थीमाथि दुर्व्यवहार भएको विरोधमा मोरङ लेटाङमा आइतबार मोटरसाइकल तोडफोड गर्दै स्थानीय ।
एक महिला प्रहरीको ज्यान जानेगरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काशिराज दाहालले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जानकारी दिएका छन् ।एक महिला प्रहरी जवानको निधन हुनुका साथै करिब २८ जना घाइते भएका थिए ।
तीमध्ये केही सामान्य र केही गम्भीर घाइते रहेको प्रजिअ दाहालले बताएका ५न् । उनका अनुसार घाइतेको मोरङको विभिन्न अस्पालमा उपचार भइरहेको छ । ‘अर्को आदेश नहुन्जेल सम्मका लागि कर्फ्यू जारी रहन्छ,’दाहालले सोमबार बिहान सुरक्षा खबरसंग भने,‘स्थिति हेरेर अर्को निर्णय हुन्छ ।’खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ बर्षिया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको घटना स्थलमा मृत्यु भएको थियो ।
भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।होलीका दिन होली खेल्ने क्रममा खेरुवा स्थित सामाजिक शिक्षाका ५६ वर्षिय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षिय बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।


