काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने भएको छ । ३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावका लागि कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान घोषणा गरेको छ ।अभियानका क्रममा हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकाक्षा बुझ्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले भने, ‘विपक्षीहरुले राष्ट्रिय मुद्धाहरुमा जति पनि भ्रम छरेका छन्, त्यसलाई पनि चिर्ने उद्देश्य छ ।’सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गर्ने ‘सुनिश्चित’ रहेको भन्दै कार्यकर्तालाई आश्वस्त पारिरहेका छन्। तर, नेपाली कांग्रेसले भने गठबन्धन बनाएर स्थानीय तहको निर्वाचनमा जाने/नजाने विषय तत्कालका लागि स्थगित गरेको छ। यस विषयमा उसले ‘चर्चा–परिचर्चा’ नै नगर्ने रणनीति अख्तियार गरेको छ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले गठबन्धनको चर्चा परिचर्चा नगर्न निर्देशन दिएको प्रवक्ता डा प्रकाशशरण महतले बताए। बुधबार एक महिने चुनावी अभियानबारे पत्रकार सम्मेलन गर्दै महतले सभापति देउवाले उक्त विषयमा अहिले प्रवेश नै नगर्न निर्देशन दिएको उल्लेख गरे। उनले भने, ‘अस्ति सभापतिज्यूले पनि निर्देशन दिइसक्नुभएको छ। गठबन्धनका विषयमा अहिले नै चर्चा परिचर्चा गर्न आवश्यक छैन।’
उनका अनुसार कांग्रेस नेतृत्वको सरकारले गरेको र भोलि गर्ने काम, केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गैरसंवैधानिक काम र सरकारको नेतृत्वमा आउनुको कारण पनि जनतालाई सुसूचित गरिनेछ ।‘घर घर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको अभियानका लागि केन्द्रीय सदस्यहरु खटाइएको छ ।
भंग गरिएका १० भ्रातृ संस्थामा तदर्थ समिति छिट्टै गठन गरी निर्वाचनमा परिचालन गरिने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।कांग्रेसले स्थानीय तहको निर्वाचनअघि चलाउने एक महिने अभियानमा आफ्नो धरातलको यथार्थ विवरण संकलन गर्नेछ।
नेता–कार्यकर्तालाई त्यहाँको वस्तुस्थितिबारे रिपोर्ट बनाउन लगाउनेछ। त्यसैगरी गठबन्धनमा सहभागी दलको अवस्थालाई समेत सोही रुपमा ‘मूल्यांकन रिपोर्ट’मा प्रस्तुत गर्नेछ। कांग्रेसका एक नेताका अनुसार केन्द्रबाट वडाको अवस्था मूल्यांकन गर्न नसकिने भएकाले अभियानका क्रममा तथ्यांक संकलन हुनेछ।
कार्यसमिति अपूर्ण रहेका जिल्लामा संगठनलाई पूर्णता प्रदान गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले परिपत्र गरिसकेका छन् । पार्टी कमिटीहरु र भ्रातृ संस्थालाई पूर्णता दिने सीमा चैत १५ तोकिएको छ । नेताहरका अनुसार भ्रातृ संस्थाको केन्द्रमा नयाँ कार्यसमिति बनाउने छ भने जिल्लामा पुरानै कार्यसमिति व्यूँताउने तयारी छ ।
अभियानका क्रममा स्थानीय तहको पहिलो कार्यकालको समीक्षा पनि गरिने कांग्रेसले बताएको छ । त्यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारवीच देखिएका समस्या र त्यसको निराकरणबारे सुझाव संकलन गरिने छ ।
अभियानमा कांग्रेस आफ्ना कुरा सुनाउन मात्रै जनताकहाँ नजाने महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् ।
भन्छन्, जनताका समस्या सुन्छौं, हरेक प्रश्नको जवाफ खोज्छौं ।’हरेक दलले बढीभन्दा बढी ठाउँ जित्न चाहने बताउँदै जसरी बढी जितिन्छ, त्यहीअनुसार निर्णय हुने उनको भनाइ छ। उनी भन्छन्, ‘हरेक दलले बढीभन्दा बढी ठाउँमा जितिन्छ। जे गर्दा बढी जितिन्छ, त्यहीअनुसार दृष्टिकोण बन्छ। सबैलाई फाइदा छ भने त्यहीअनुसार गठबन्धन बन्छ।’
एक्लै कांग्रेस निर्वाचनमा जाँदा बढी ठाउँ जित्ने अवस्था भए गठबन्धनका लागि आनाकानी गर्न सक्छ।
त्यस्तै, कांग्रेसले मूल्यांकन गरेको हैसियतभन्दा बढी सिटमा गठबन्धनका अन्य दलले तालमेलको अपेक्षा गरेमा नकार्न सक्नेछ। सत्ता गठबन्धनका दलहरुले पनि कांग्रेसले दिने संख्याभन्दा आफ्नै बलबुताले बढी सिट हासिल गर्ने मूल्यांकन गर्दा एक्लै चुनाव लड्न सक्नेछन्। नमिल्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई लाभ पुग्ने हिसाबकिताबले पनि गठबन्धन गरेर चुनाव लड्ने वा एक्लै निक्र्योल गर्नेछ। चुनाव प्रचारका साथै त्यही यकिन गर्न कांग्रेसले टोल–टोल पुग्ने अभियान घोषणा गरेको छ।
कांग्रेसलाई चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको दबाव छ । कांग्रेसमा भने स्थानीय चुनावमा तालमेल गर्न नहुने मत बढी छ । तर एक महिने अभियानको क्रममा चुनावी तालमेलबारे कांग्रेस मौन बस्ने भएको छ ।पार्टीको केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिले चुनावी तालेमलबारे कुनै निर्णय नगरिसकेको भन्न्दै उपसभापति खड्काले भने, ‘चुनावमा तालमेल गर्छ कि गर्दैन भनेर हामीले निर्णय गरेका छैनौं ।
एक महिने अभियानमा पनि एजेण्डा बन्दैन ।’संसदबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीलाई भने मुद्दा बनाउने भएको छ ।एमसीसी नेपालको आवश्यकता र हितमा रहेको भन्दै प्रवक्ता डा. महतले भने, ‘एमसीसीबारे अत्यन्त नकारात्मक प्रचार गरिएको छ, भ्रम फैलाइएको छ । त्यसलाई चिर्छौं ।’कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र तयार पार्ने जिम्मा स्थानीय कमिटीलाई नै दिने भएको छ । पार्टीको उम्मेदवार विजयी भएमा पाँच वर्षमा गर्ने कामको योजनासहित हरेक स्थानीय तहको कमिटीले चुनावी घोषणा पत्र बनाउनुपर्नेछ ।
अहिले नै गठबन्धन गर्ने वा नगर्ने भन्नेमा कांग्रेस प्रवेश नगर्ने कुरामा उनले पनि जोड दिए। थपे, ‘अहिले नै गठबन्धन गर्नुपर्छ र गर्नुपर्दैन भन्नेमा कांग्रेस प्रवेश गर्दैन। अहिले आफ्नो कार्यक्रम लिएर जाँदैछ।’कांग्रेसले एक महिने अभियानका लागि आफ्ना केन्द्रीय सदस्यहरुलाई ७७ जिल्लामा खटाएको छ। त्यहाँ उनीहरुले चुनावी रणनीति तय गर्ने, जिम्मेवारी दिने मात्रै होइन एक महिनापछि फर्केर आउँदा कांग्रेसको अवस्थाबारे जानकारी समेत लिएर आउनेछन्।
कांग्रेसले त्यसपछि मात्रै केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठक राख्नेछ। बैठकमा जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुले जिल्लाका यथार्थ बताएर सम्भावित रणनीतिबारे सुझाव समेत दिनेछन्। त्यही कारणले कांग्रेस उपसभापति खड्काले दोहोर्याइरहे, ‘गठबन्धन गर्ने वा नगर्ने विषयमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गर्नेछ।’


