काठमाडौं । नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बिहीबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराएकी छन् ।
ती गायिकाले शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् । अभिनेता पल शाहले नाबालिक गायिकामाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए। उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।
बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै अभिनेता शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै अनुसन्धान थालिएको जनाएको छ । कास्की घर भएकी पीडित किशोरीका बुबा सुरुमा उजुरी लिएर जिल्ला प्रहरी कार्यलय कास्की गएका थिए। तर, अन्तिम पल्ट कसुर भएको ठाउँ तनहुँ रहेको खुलेपछि कास्की प्रहरीले उजुरी दर्ता गरी प्रक्रिया अघि बढाएको हो।
बुधबार प्रहरी कार्यलयमा पीडित किशोरीका बुबाले दिएको जाहेरीमा छोरीले विगत तीन महिनादेखि काममा मन नलगाएपछि, एकोहोरो बस्न थालेपछि कारण खोतल्दै जाँदा अभिनेता पल शाहले देखावटी मायाप्रेम बहाना गर्दै जर्बजस्ती करणी गरेको खुलेको दाबी गरिएको छ।
पलले ती नाबालिक गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ। पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंगमा चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी पनि सवार थिए।त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाइफकाई ‘बिहे गर्छु, धोका दिन्नँ’ भन्ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ।
यस्तो छ घटना क्रम :
– मिति २०७७÷०६÷२२ गते (०८÷१०÷२०२०) मा काठमाडौंमा ‘पिपलु वर’ गीतको म्युजिक भिडियोको सुटिङको क्रममा पहिलो पटक भेटघाट भइ फेसबूक आईडी र फोन नम्बर एकापसमा आदान–प्रदान गरेको ।
– मिति २०७७÷१२÷३१ गते बागलुङ जिल्लामा आयोजित ‘गलकोट महोत्सव’मा जाँदा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी लगायतका कलाकारसँग एउटै गाडीमा गएको ।
– ‘गलकोट महोत्सव’ सकाएर फर्कने क्रममा बाल गायिका (पीडित) र प्रतिवादी शाह एउटै सिटमा यात्रा गर्ने क्रममा बाल यौन दूब्यवहार गरी संवेदनशील अंग चलाउने, जिस्काउने, समात्नेलगायतका कार्य गरेको ।
– मिति २०७८÷०१÷०२ गते पीडित बालिका काठमाडौंस्थित आफ्नो कोठामा बस्न सुरु गरेकी र प्रतिवादी शाहसँग सामान्य भेटघाट गर्दै आएको ।
– लकडाउनको हल्ला चलेपछि पीडित बालिका आफ्नो घर फर्किएकी र त्यसको एक सातापछि प्रतिवादी शाहले ‘सुटिङको लागि पोखरा आउँदै छु, तिमीलाई भेट्छु’ भनी लोखरास्थित लेकसाइडमा बोलाएर भेटघाट गरेको ।
– २०७८÷०१÷१४ गते साँझ १९ः०० बजे पोखराबाट काठमाडौं फर्कने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–दुलेगौडास्थित प्रदीप थापाको घरमा ‘विवाह गर्छु, धोका दिन्न’ भन्दै असहमति हुँदाँदै पनि अन्तिमपटक) जबरजस्ती करणी गरेको ।
– त्यसको भोलिपल्ट ढोर बाराही मन्दिरसमेत घुमाएको र दुलेगौंडाको सुटिङ सकाएरर काठमाडौं फर्किएको ।
– यसअघि मिति २०७७÷०९÷१० गते पोखरास्थित होटल प्राइम र मिति २०७७÷१२÷०७ गते चितवनस्थित गैडाकोट रिसोर्टमा पनि जबरजस्ती करणी गरेको ।
शुक्रबारदेखि पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ देशभरका हलमा प्रदर्शन हुँदैछ। त्यसैले बुधबार साँझ काठमाडौंस्थित किर्तिपुर सिनेप्लेक्समा यसको ग्रान्ड प्रिमियर भइरहेको छ। मंगलबार पलको जन्मदिनको परेको थियो। तर, जन्मदिनकै सम्मुखमा उनले नाबालिग गायिकासँग यौनजन्य अपराध गरेको पुष्टि हुने अडियो नै सार्वजनिक भएपछि उनी तनावमा थिए। तर, कोरोनाका कारण लामो ब्रेकपछि रिलिज हुन लागेको फिल्म प्रिमियरकै दिन उनीविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी परेपछि उनलाई झन् ठूलो झट्का परेको छ। अहिलेसम्म उनी प्रिमियरमा आएका छैनन् ।
के छ कानुनी सजाय?
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार कुनै महिलाको मञ्जुरीबिना वा १८ वर्षभन्दा मुनिको बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्तीकरणी गरेको मानिनेछ । उपदफा ३ मा करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर सजाय तोकिएको छ ।
उपदफा ३ (क) मा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुने भनिएको छ ।
उपदफा ३ (ख) अनुसार दश वर्ष वा १० वर्षभन्दा बढी, १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ देखि २० वर्षसम्म कैद सजाय हुनेछ ।
उपदफा ३ (ग) अनुसार १४ वर्ष वा १४ वर्षभन्दा बढी, १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।
उपदफा ३ (घ) अनुसार १६ वर्ष वा १६ वर्षभन्दा बढी, १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
उपदफा ३ (ङ) अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
पीडित बालिकाकी बुवाले दिएको जाहेरी अनुसार पीडितको उमेर १६ वर्ष रहेको छ । यसअनुसार पीडकलाई १० देखि १२ वर्षको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।


