काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’माथि प्रतिनिधिसभामा छलफल छ । संसदमा छलफल हुनुअघि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु भएको छ । प्रदर्शनलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले बानेश्वरमा २ हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ ।महानगरीय प्रहरी परिसरबाट १२ सय प्रहरी परिचालन गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट थप १२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनाली फिल्डमा खटिएका छन् । मैनालीसँगै १४ जना डिएसपीलाई फिल्डमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्थाको समग्र कमाण्ड काठमाडौंका एसएसपी सुदिप गिरीले गरेका छन् ।
सदनमा एमसीसीको बहस सुरु भइरहँदा सडकमा भने त्यसको विरोधमा प्रदर्शनहरू जारी रहेका छन् । गत फागुन ८ गते बसेको प्रतिनिधि सभा बैठकका दौरान संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र रणमैदान नै बनेको थियो । प्रहरीले रबरको गोली नै चलाउन परेको थियो भने दर्जनौँ प्रहरी तथा आन्दोलनकारी घाइते भएका थिए ।
आज पनि सो प्रकृतिको प्रदर्शन र झडप हुने आशंका गरी नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । त्यस क्षेत्रको सुरक्षा व्यवस्था यतिबेला कडा पारिएको छ ।


