काठमाडौं। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले राजस्व अनुसन्धान विभागसँग उद्योगी व्यवसायीलाई कारण खुलाएर मात्र छापा मार्नुपर्ने माग राखेको छ।
सोमबार महासंघका पदाधिकारीहरु र राजस्व अनुसन्धान विभागका महानिर्देशकबीच महासंघ सचिवालयमा भएको छलफल कार्यक्रममा निजी क्षेत्रले विभागलाई यस्तो बताएको हो।राजस्व अनुसन्धान विभागले राजस्वको दायरा फराकिलो बनाउन ध्यान केन्द्रित गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ।
राजस्व वृद्धिका लागि दर्ता भएका करदतालाई मात्र थप करको भार सृजना गर्नुभन्दा राजस्वको दायरा विस्तारका लागि विभागले निरन्तर अध्ययन र अनुसन्धान गर्नुपर्नेमा महासंघले जोड दिएको छ।
‘उद्योगी व्यवसायीको मानमर्दन हुनेगरी छापा मार्ने कार्य भएकाले छापा मार्दा कारण खुलाएर मात्र छापा मार्नुपर्ने, अनुसन्धानको निष्कर्षमा नपुगी सार्वजनिक गर्न नहुने, छापा हानेकै बखत उद्योगी व्यापारीले वारेसनामा दिने व्यवस्था गर्नुपर्ने, आवश्यक कागजपत्रको प्रतिलिपी लिई व्यापारिक स्थल सिलबन्दी गरेको २४ घण्टाभित्र संचालन गर्ने वातावरण बनाउनु पर्ने’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जवाफमा महासंघका महानिर्देशक प्रकाश पौडेलले ‘करदातालाई अनावश्यक दुःख नदिने गरी र दोहोरोपना नहुने गरी राजस्व अनुसन्धान विभागले काम गरिरहेको’ बताएका थिए।
यस्तै, दर्ता नभइ आर्थिक कारोबार गर्ने र अवैध आयात गर्नेहरुलाई राजस्वको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागले कार्य गर्नुपर्ने, आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कमा दर्ता भइ कारोबार गर्ने र एक्जिम कोड लिइ मालवस्तु निकासी पैठारी गर्नेहरुलाई सम्बन्धित निकायले नै अनुसन्धान गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि महासंघले विभागलाई दिएको।
भीसीटीएस प्रणालीमा आबद्ध भएपछि आएका मिसम्याचका समस्या निराकरण सरकारले गर्नुपर्ने, एकै जिल्लाभित्र मालवस्तु आपूर्ति गर्दा भीसीटीएस नलाग्ने व्यवस्था गर्नुपर्ने, भीसीटीएसलाई फेजअनुसार लागु गर्नुपर्ने सुझाव पनि महासंघले दिएको थियो ।
भीसीटीएस र राजस्व अनुसन्धानका प्रावधानहरुको सम्बन्धमा सबै प्रदेशमा छलफल कार्यक्रम गर्नका लागि महासंघसँग साझेदारीका लागि समेत पौडेलले अनुरोध गरेका छन्। साथै, राजस्वसम्बन्धी सबै निकायहरुबीच समन्वय गरेर काम गर्ने समेत उनले महासंघ पदाधिकारीहरुलाई विश्वास दिलाए।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र समिति सभापतिहरु उपस्थित थिए।


