एमसीसीमा दलहरुले दोहोरो चरित्र बन्द गर्नुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा प्रमुख राजनीतिक दलहरुले दोहोरो चरित्र (डबल स्ट्यान्डर्ड) देखाउन बन्द गर्नुपर्ने बताएका छन् ।


आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले फागुन १२ गतेको संसद बैठकमा दलहरु एमसीसीको पक्षमा वा विपक्षमा उभिनुपर्ने बताएका हुन् ।


‘सरकारमा पनि बस्ने, सरकारमा ल्याएको प्रस्तावमा विपक्षमा मतदान गर्दा राजनीतिक नैतिकता, जवाफदेहीताको प्रश्न पनि होला, जनतालाई जवाफ दिने कुरा पनि होला’ उनले भने, ‘अब सबैले आफ्नो डबल स्ट्यान्डर्ड छाड्नुपर्छ । पक्षमा हो भने पक्षमा हो, विपक्षमा हो भने विपक्षमा हो । आधाले विपक्षमा लागेजस्तो गर्ने आधाले पक्षमा लागेजस्तो गर्ने कुरालाई बन्द गर्नुपर्छ ।’


संसदमा रहेका दलहरुमध्ये नेपाली कांग्रेसबाहेक अरु ठूला दलले एमसीसीको विषयमा प्रष्ट धारणा सार्वजनिक गरेका छैनन् । नेकपा एमालेले संसद अवरोध जारी राखेको छ भने सत्तारुढ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले एमसीसी टेबल हुँदै गर्दा संसदमै नाराबाजी गरेका थिए । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि एमसीसीबारे आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन् ।


महामन्त्री थापाले फागुन १२ गते नाराबाजीकै बीच पनि एमसीसी सम्झौतामाथि छलफल हुने बताए । ‘नाराबाजीकै बीच छलफल हुन्छ भन्ने कुरा त नाराबाजी गर्नेहरुले छलफलमा भाग लिएर पुष्टि गरिदिनुभयो, यसैगरी छलफल हुन्छ । मतदानमा जान्छ’ उनले भने । आइतबार एमसीसी टेबल हुँदै गर्दा नेकपा एमालेका अधिकांश सांसदले रोष्ट्रममा नाराबाजी गरेका थिए । तर सांसद भीम रावलले भने संसदमा बोल्दै एमसीसी सम्झौता टेबल गर्न नहुने मत राखेका थिए ।


एमसीसी सम्झौता संसदमा टेबल भएपछि अब संकल्प प्रस्ताव वा व्याख्यात्मक टिप्पणीमार्फत संशोधन हुन सक्ने भन्दै उनले नेपाली कांग्रेस दुवै विकल्पमा तयार रहेको बताए । ‘यी सबै विकल्पमा कांग्रेस छलफल गर्न तयार छ, यो माध्यममा जाने भए पनि जाऔं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..