काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीको बिरुद्धमा सडक तताउँदैआएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्ततः लचिलो भएका छन् । माओवादी र समाजवादी दुवै पार्टीले एमसीसी संसदमा टेबुल गर्न दिने भएका छन् ।नेकपा समाजवादीको आज बसेको स्थायी समिति बैठकले एमसीसी संसदमा टेबुल गर्न दिने निर्णय गरेको छ ।
समाजवादीले एमसीसी संसदमा पेश गर्नका लागि संसद खुलाउनुपर्ने सर्त पनि अगाडि सारेको छ । प्रम्ख प्रतिपक्षी दल एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार गठनपछि निरन्तर संसद अबरोध गर्दैआएको छ । समाजवादीले एमसीसी संसदमा टेबुल गर्न दिने निर्णय गरेसँगै माओवादी केन्द्र पनि लचिलो भएको छ ।
माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज सभामुख अग्निप्रसाद सापकोटाको निवास लैनचौरमा गई एमसीसीको बारेमा छलफल गरेका छन् । अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाबीच एमसीसी टेबुल गर्न दिनेबारेमा छलफल भएको बताइएको छ ।
एमसीसी टेबुल गर्नबाटै रोक्न खोजिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग वार्ता गर्न पुगेका थिए । एमाले अध्यक्ष ओलीले संसद भंग गरी चुनाव घोषणा गर्नुपर्ने, प्रधानन्यायाधीशमाथिको महाभियोग फिर्ता लिनुपर्ने, सभामुखमाथि अविश्वासको प्रस्ताव ल्याउनुपर्ने जस्ता सर्त तेस्र्याएपछि उनी बिलखबन्दमा परेका थिए ।
एकातिर अमेरिकी राजदूतको चर्को दबाब, अर्कोतिर सत्ता गठबन्धनका दलहरु एमसीसी टेबुल गर्नसमेत तयार नभएपछि देउवा ओलीनिवासमा सहयोग माग्न पुगेका थिए । अमेरिकी राजदूत र्यान्डीबेरीले ओलीलार्इू समेत दबाब दिएका थिए ।


