काठमाडौं । दरवारमार्गस्थित मदिरा स्टोर ग्रिनलाइन सेन्टरका संचालक अमित अग्रवालले आफूहरु भाग्ने नियतले नभई उपचारका क्रममा भारत गएर फर्किएको बताएका छन् । पत्रकार सम्मेलन गर्दै अग्रवालले आफ्ना बुबाको उपचार र रिफ्रेसमेन्टका लागि सडकमार्ग हुँदै भारत गएको बताए । यद्यपी बैंक तथा साथीभाईबाट लिएको ऋण समयमै तिर्न असहज हुँदा केही धम्कीहरु आएको तथा तनाव बढेको उनले उल्लेख गरे । कोभिड १९ को महामारीका कारण काठमाडौंका होटल, रेष्टुरेन्ट तथा क्यासिनो बार बन्द भए ।
मदिरा पसलहरु पनि बन्द भए, बजारमा पठाइएको मदिराबाट करोडौं भुक्तानी रकम प्राप्त हुन सकेन र ऋण चुक्ता गर्न सकिएन’ अग्रवालले पत्रकार सम्मेलनमा भने ‘मेरो परिवार यी अनपेक्षित परिस्थितिले मानसिक तनावमा रहँदै आएकोमा सोको उपचारार्थ देशबाहिर गएको हो ।’नेपालमा तीन दशकदेखि महँगो विदेशी ब्रान्डका मदिराको कारोबार गर्दै आएका अमित अग्रवाल गत पुसको अन्तिमतिर सपरिवार आफ्नो निवास र पसल दुवै ठाउँमा ताल्चा लगाएर एकाएक उनी गायब भएका थिए ।
ओमप्रकाश अग्रवालले सुरु गरेको मदिरा व्यापार छोराहरु अमित र अभि अग्रवालले सम्हालिरहेका छन् । अग्रवाल परिवार नेपालमा महँगा विदेशी मदिरा भित्र्याउने अग्रणीमध्येमा पर्छ । महँगो मदिरा व्यापारमा अग्रवाल दाजुभाईले साम्राज्य नै जमाएका थिए ।त्यसोत, अग्रवाल दाजुभाईको मुख्य व्यवसाय नै मदिरा हो । मदिरामा उनीहरु दोस्रो पुस्ताका हुन् ।
उनीहरुका बुबा ओमप्रकाश अग्रवालले भारतबाट नेपाल आएर नेपालको नागरिकता लिएपछि विदेशबाट मदिरा ल्याएर नेपालमा बेच्ने व्यवसाय सुरु गरेका थिए ।अग्रवाल दाजुभाईले विशेष गरी तीनवटा कम्पनी मार्फत् मदिराको कारोबार गर्दै आएका थिए । जसमध्ये एलायन्स डिस्ट्रिब्युटर्समार्फत् विदेशबाट मदिरा आयात गर्दथे, भने अमिअभि ट्रेडिङमार्फत् होलसेलको कारोबार गर्दै आएका थिए । त्यस्तै ग्रीनलाइन स्टोरले भने मदिराको खुद्रा कारोबार गर्दै आएको थियो ।
बैंकहरुबाट आफूले ऋण लिँदा चल/अचल सम्पत्ति पर्याप्त धितो राखेको उनले बताए । आगामी दिनमा आफूसँग भएका सम्पत्ति बिक्री गरेर र आफू डेरामा बसेर भए पनि बैंकको ऋण तिर्ने उनले प्रतिबद्धता जनाए । ‘बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण करिब ८० करोडजति छ, सो बराबरकै सम्पत्ति भएकाले क्रमिक रुपमा ऋण तिर्दै जानेछु’ अग्रवालले भने । मिटरब्याजीबाट ऋण लिएको विषयलाई भने उनले घुमाएर जवाफ दिए ‘व्यवसाय गर्नेलाई कारोबारमा पैसा अभाव भइरहँदो रैछ, तसर्थ साथीभाई वा चिनेजानेकोबाट ऋण लिएको सत्य हो, त्यसैलाई मेरो बुवाले मिटरब्याजी भनेर भन्नुभएको हो ।’
यसरी साथीभाईहरुसँग लिएको ऋण २२–२३ करोडजति रहेको उनले स्पष्ट पारे । उनले भने ‘मेरो आजको प्रोपर्टी भ्यालु १०० करोडदेखि १०५ करोडसम्म छ, तिर्नुपर्ने दायित्व पनि सोही हाराहारीमा छ ।’ बजारबाट उठ्न बाँकी रकम उठाउँदै साथीभाईहरुलाई तिर्दै जाने उनले बताए । आफूलाई ऋणकै कारण भौतिक आक्रमण गर्ने तथा सम्पत्ति कब्जा गर्नेजस्ता धम्की आएकाले आफ्नो जिउधनमा गम्भीर खतरा उत्पन्न भएको उनले बताए ।
जिउधनको रक्षाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले निवेदन दिएका छन् ।आफू नेपालबाट भागेर बाहिर नजाने पनि उनले प्रतिबद्धता जनाएका छन् । ‘मेरो परिवार विगत ७ पुस्तादेखि नेपालमा बसी व्यापार व्यवसाय गर्दै आएको छ र म पनि यहीं देशको कानुनमा रही व्यवसाय गर्ने हो, यहीं देशमा मर्ने हो’ उनले भने । दरवारमार्गस्थित मदिरा स्टोर ग्रिनलाइन सेन्टर केही दिनमै संचालन हुने उनले बताए ।
गत असोजमा अग्रवाल परिवारले आफ्नो निवास र पसल दुवै ठाउँमा ताल्चा लगाएर एकाएक गायब भएपछि उनकी छोरीले आफ्नो परिवारका ९ सदस्य हराएको भन्दै पुस २२ गते प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । उक्त उजुरीको आधारमा प्रहरीले ज्ञानेश्वरस्थित अग्रवाल परिवारको घरमा ताल्चा फोडेर चेकजाँच गर्ने क्रममा ओमप्रकाशले लेखेको पत्र भेटिएको थियो ।उक्त पत्रमा ओमप्रकाशले बिग्रिएको कारोबार उकास्न आफूले मिटरब्याजमा रकम लिएको र उक्त ऋण तिर्न नसक्दा मर्नु न बाँच्नुको अवस्थामा पुगेको उल्लेख गरेका थिए ।
उक्त पत्रमा उनकी श्रीमती र दुई छोराद्वयको समेत हस्ताक्षर थियो ।अमित अग्रवालले लरबरिएको आवाजमा मिटरब्याजमा ऋण नलिएको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा अमितको आवाज लरबरिएको थियो भने शरीर काँपिरहेको थियो । उनले आफ्नो साथीभाईसँग २४ प्रतिशत ब्याज तिर्ने शर्तमा ऋण लिएकाले बुवाले त्यसैलाई मिटरब्याज ठानेर घरमा पत्र लेखेर छोडेको बताए ।यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अग्रवाल परिवारले चर्को ब्याज तिर्ने शर्तमा रकम लिएको केही तथ्य बटुलेको जनाएको छ ।
पत्रकार सम्मेलनमा अमितको हाउभाउले मिटरब्याजीसँग ऋण लिएको भरसक लुकाउन खोजेको आँकलन गर्न सकिन्थ्यो ।पत्रकार सम्मेलनमा ती व्यक्तिहरुको नाम लिएर प्रश्न सोध्दा अमितले कारोबारबारे स्वीकारेपनि ‘मिटरब्याज’ भन्ने शब्द भने निकालेनन् । उनले व्यवसायी रुपेश पाण्डे, सुनिल श्रेष्ठ र पूर्वएसएसपी दीपक श्रेष्ठलगायत सहकारीमा संलग्न भएकाले ऋण लिएको दाबी गरे । उनले भनेका थिए, ‘उनीहरू सहकारीमा संलग्न भएकाले ऋण लिएको हो ।’त्यस्तै ‘सहकारीबाट लिएको ऋण हो भने किन धम्की आयो ?’ भन्ने प्रश्नमा उनले ‘एक महिनामा तिर्छु’ भनेको ऋण तीन महिनासम्म पनि तिर्न भनाभन भएको बताए ।
मिटरब्याजमा पैसा नलिएको बताइरहेका अमितले आफ्नो मुख्य समस्या भने व्यक्तिगत ऋण नै भएको बताए ।उनले कोरोना महामारीका कारण होटल रेस्टुरेन्ट बन्द भएपछि आफ्नो कारोबार सुकेर बैंकको ऋण तिर्न नसकेको बताए ।अमिले लगातार ऋणीले अत्याएपछि बुबालाई डिप्रेसन भएपछि उपचारका लागि भारत गएको दाबी गरेका छन् । उनले भनेका थिए, ‘बुवाले आत्महत्या गर्न खोज्नुभयो ।
भारत लगेर बुवाको उपचार पनि गराउँछु र बुवालाई भाईको जिम्मा लगाएर आउँछु भन्ने योजनासहित बाहिरिएको हुँ ।’रक्सौल गएपछि आफू र बुबा दुवैजना अस्पताल भर्ना भएको बताउँदै उनले भने, ‘उपचारपछि सीआईबीले खोजेको छ, भनेको मिडियामा देखेपछि म ू फर्किएको हुँ ।’पत्रकार सामू उनले आफ्नो कथाव्यथा सुनाउँदै ऋण तिर्न आफूसँग पर्याप्त धितो रहेको दाबी गर्दै बिस्तारै ऋण तिर्ने बताए । उनले अहिले ८० करोड जति ऋण रहेको र त्यसवापत १ सय करोड रुपैयाँ बराबरको धितो रहेको दाबी समेत गरेका छन् ।ऋण र धितो सम्पत्ति समान रहेकाले कोठा भाडामा बसेर नै व्यवहार मिलाउन सकिन्छ भन्ने विश्वासले आफू फर्किएको उनको भनाइ छ । उनले थप भनेका छन्, ‘अर्डर गरेको करिब १० कन्टेनर मदिरा आउन बाँकी छ । अब त्यसैले पुनः व्यवसाय चलाउने योजना छ ।’ विदेशी मदिराको व्यापारका कारण डुबेको भन्दै उनले अब स्वदेशी मदिराको व्यापार गर्ने बताए ।
अमितका अनुसार बैंकलाई ८० करोड र व्यक्तिगत तथा सहकारीलाई २० देखि ३० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ । उनका अनुसार एभरेष्ट बैंकमा ५ करोड रुपैयाँको ऋण रहेको छ । त्यसका लागि उनले ज्ञानेश्वरमा भएको जग्गा तथा चार करोड रुपैयाँ गरी २८ करोड ६० लाख रुपैयाँ बराबरको धितो राखेका छन् ।यसका साथै ग्लोबल आइएमई बैंकमा ७ करोड ५० लाख रुपैयाँ ऋण र ५० लाख रुपैयाँ ब्याज गरी ८ करोड रुपैयाँ ऋण रहेको उनले बताए । उक्त बैंकबाट ऋण लिनका लागि काठमाडौं ज्ञानेश्वरमा भएको १३ आना २ पैसाको जग्गा धितोमा राखेका छन् ।
उनका अनुसार मेगा बैंकमा २३ करोड ऋण र डेढ करोड रुपैयाँ ब्याज पुगेको उनले बताए । उक्त ऋण लिनका लागि कालिमाटीमा रहेको २२ आना जग्गा, २ वटा घर तथा उक्त बैंकमा २ करोड रुपैयाँ बराबरको सेयर, बजारबाट उठ्न ५ करोड गरेर २९ करोडको धितो राखेका छन् ।नेपाल इन्भेष्टमेन्ट बैंकमा २८ करोड ५० लाख रुपैयाँ साँवा र डेढ करोड रुपैयाँ ब्याज गरी ३० करोड रुपैयाँ ऋण रहेको उनले बताए । चन्द्रगढीको २२ आना जमिन, १५ करोड रुपैयाँको स्टक, बजारबाट उठाउनु पर्ने रकम १८ करोड रुपैयाँ गरेर ३३ करोड रुपैयाँको धितो राखेको उनले बताए ।


