काठमाडौं । सरकारले अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ । अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुखले नेतृत्व गर्ने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यदलको संयोजक राजश्व महाशाखा प्रमुखलाई तोकिएको र सो माहाशाखाको नयाँ जिम्मेवारी सहसचिव भूपाल बराल रहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।
कार्यदलको अन्य सदस्यहरुमा सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्रधिकरण र नेपाल प्रहरीका एक-एक जना उच्च अधिकारीहरु छन् ।
राजस्व अनुसन्धानबाट कार्यदलमा उपमहानिर्देशक टंकप्रसाद पाण्डेय तोकिएका छन् भने नेपाल दूरसञ्चार प्रधिकरणका इन्जिनियर एवम् निर्देशक विजयकुमार रोयसदस्य छन् ।कार्यदलको सदस्यको रुपमा चयन भएको पत्र आफूले पाएको राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक पाण्डेयले बताए ।
यता नेपाल राष्ट्र बैंकको कसलाई पठाउने भन्ने निधो गरिनसकेको जनाएको छ । सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीबाट कार्यादलको सदस्य को-को रहने भन्ने तोकिएको छैन ।डिजिटल प्रविधिको प्रयोगमार्फत राजस्व चुहावट बढेको र रेमिट्यान्सको प्रवाहमै असर परेको भन्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो कारोबार नियन्त्रण गर्न विशेष कार्यादल गठन गर्ने घोषणा गरेका थिए ।
क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, हाइपर लगायतका डिजिटल नेटवर्किङ जस्ता अवैध कार्यबाट मुलुकको लगानीयोग्य पूँजी पालायन भइरहेको ठहर गर्दै मन्त्रालयले यसलाई रोक्न यस्तो कार्यादल बनाएको जनाएको छ ।


