काठमाडौं । देशमा रासायनिक मलको हाहाकार छ तर वीरगञ्ज सुख्खा बन्दरगाहमा रहेको रासायनिक मल डेढ वर्षदेखि असरल्ल छ । उदेग लाग्दो कुरा के भने एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयलाई ४० पटक पत्राचार गर्दा पनि सुनुवाई हुन सकेको छैन । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको सात हजार ५९१ मेट्रिक टन रासायनिक मल वीरगञ्ज सिर्सिया सुख्खा बन्दरगाहमा डेढबर्ष देखि अलरल्ल र बेवारिसे छ । अर्थ र कृषि तथा पशुपक्षी मन्त्रालयबीच मलका सम्बन्धमा ४० पटकभन्दा बढी पत्रचार भए पनि आवश्यक सहयोग र समन्वय नहुँदा मल डेढ वर्षदेखि वातावरण नै प्रदूषित हुने गरी अलपत्र अवस्थामा फ्याँकिएको हो । सुख्खा बन्दरगाहमा रहेका मलका बोराले दुई बर्खाको घाम पानी खाएका छन् ।
सङ्घीय संसद्को प्रत्यायोजित व्यवस्थापन र सरकारी आवश्वासन समितिको अग्रसरतामा पछिल्लो समय उक्त मलको उचित व्यवस्थापनका लागि सरोकारवालासँग पटकपटक छलफल र निर्देशन भए पनि हालसम्म ठोस प्रगति भएको देखिन्न । बन्दरगाह क्षेत्रमा अलपत्र अवस्थामा रहेको डिएपी मलको व्यवस्थापनका सन्दर्भमा प्रत्यायोजित समितिले कृषि, वाणिज्य र अर्थ मन्त्रालयका सचिव तथा कृषि सामग्री र साल्ट ट्रेडिङका पदाधिकारीसँगको छलफलपछि मलको प्रयोग वा वैकल्पिक उपयोग गर्न निर्देशन दिएको थियो ।
संयुक्त अरब इमिरेट्स(युएई) स्थित स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज प्राइभेट लिमिटेडले साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानका लागि बोलपत्रमार्फत ल्याएको मल विसं २०७७ जेठमा बंगालको खाडीमा आएको आम्फून समुन्द्री आँधीका कारण भिजेर गुणस्तर बिग्रेको थियो । भन्सारले जाँच पास गर्ने क्रममा आयात गरेको २५ हजार टन मध्ये सात हजार ५९१ मेट्रिक टन अर्थात् करिब डेढ लाख बोरामा गुणस्तरको प्रश्न उठाइएपछि मल बेवारिसे बनेको हो । भन्सार कार्यालयका अनुसार यसबीचमा टेण्डर पाएको कम्पनी र आयात गर्ने दुवै संस्थाले मलका लागि समयभित्रै आवश्यक चासो नदिएका कारण मल अलपत्र परेको हो ।
मल अलपत्ररुपमा भन्सार परिसरमा छोडिँदा वातावरणमा प्रतिकूल असर पर्ने, मानवबस्ती र खेतीपातीमा नोक्सान पुग्ने, असरका कारण वरपरका रुख बिरुवा सुक्ने भएको भन्दै यसअघि समितिले अर्थ मन्त्रालयलाई आवश्यक र उचित निर्णय गर्न निर्देशन दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबीचमा मल आयातमा गुणस्तरको प्रश्न उठाएर कृषि सामग्रीका केही पदाधिकारीमाथि मुद्दा चलाएपछि दुवै संस्थानका पदाधिकारी सुख्खा बन्दरगाहमा रहेको मलको बारे निर्णय लिन हच्किएका छन् । मुलुकमा किसान मल नपाएर पिरोलिएका बेला अन्तर मन्त्रालयबीच समन्वय र सहयोग नहुँदा करिब रु एक अर्ब मूल्य बराबरको मल लामो समयदेखि प्रयोग हुन नसकेर असरल्ल रहनुले सरकारी काम÷कारबाहीलाई गिज्याइ रहेको छ । यसअघि उक्त मल भन्सारले जफत गरेर नष्ट गर्ने निर्णय गरेको भए पनि स्थान र खर्च अभावले रोकिएको थियो ।
समिति सभापति रामनारायण बिडारी भन्छन, ‘मल भन्सार आइपुग्दा नै भिजेर आएकाले भन्सार छुटाउने विषयमा विवाद भएछ, पछि ल्याउने र मगाउने दुवै पक्ष सम्पर्क नगरेपछि बेवारिस अवस्थामा रहेको करिब डेढ लाख बोरा मल भन्सारले पनि पन्छाउने क्रममा अलपत्र अवस्थामा देखियो ।’
संसदीय समितिले गत कात्तिकमा वीरगञ्ज सुक्खा बन्दरगाहको निरिक्षणका क्रममा यत्रतत्र छरिएको अवस्थामा देखेको मलका बोरा अहिले पनि सोही अवस्थामा छ । वर्षाद्मा मल भिजेर बग्दा त्यस क्षेत्रका रुख, बिरुवा र बाली सुकेर गएका छन् । सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पछिल्लो समय अर्थ मन्त्रालयको निर्देशनमा मल कृषि मन्त्रालयलाई हस्तान्तरण गर्न पत्राचार भइ सकेको जानकारी दिए । उनले भने, ‘मल भिजेर गुणस्तरमा प्रश्न उठेकाले ऐनअनुरुप नष्ट गर्नेबाहेक अन्य उपाय थिएन, त्यसैले रोकिएको हा ।’
यसबीचमा आयतकर्ता कम्पनीले मलको गुणस्तर परीक्षण गरेका छन् । परीक्षणमा प्रयोगमा ल्याउन सकिने नतिजा प्राप्त भएको जानकारी दिइएको छ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका सहायक कार्यकारी निर्देशक पङ्कज जोशीले मलको गुणस्तरमा केही कमी भएता पनि प्रयोग गर्न सकिने प्रतिक्रिया दिए ।


