चितवन । सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग पनि पैसा लिएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीसँग पनि पैसा लिएको भए उजुरी गर्नुस् भनी सार्वजनिक सूचना प्रकाशन गरेपछि उपचार गराएका सङ्क्रमितले उजुरी दिएका छन् । आइतबार प्रशासनले सूचना सार्वजनिक गरेपछि कोरोना सङ्क्रमितले बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
सरकारसँगको सम्झौताविपरीत चितवन मेडिकल कलेजले बिरामीसँग पैसा लिएको तर उनीहरूलाई निःशुल्क उपचार गरेको भनी सरकारसँग भुक्तानी दाबी गरेको थियो । तीन जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
उजुरी दिनेमध्ये कोरोना सङ्क्रमित भरतपुर महानगरपालिका–२० का कृष्ण भण्डारी गत जेठ २ गते चितवन मेडिकल कलेजमा भर्ना भएर असार ७ गते उपचारपछि घर फर्किएका थिए । यो क्रममा छ लाख ८२ हजार सातसय ८० रुपियाँ बिल उठेको भण्डारीले जानकारी दिए। । त्यसमा कलेजले एक लाख रुपियाँ छुट दिएर पाँच लाख ८२ हजार सातसय ८० रुपियाँ आफूले तिरेको उनले जानकारी दिए ।
३७ दिन अस्पतालमा बस्दा भेन्टिलेटर, आईसीयू र एचडीयूमा बसेर उपचार गरिएको, कुरुवाको खर्च, खाइखर्च र अन्य गरेर १२ लाख रुपियाँ सकिएको उनको दाबी छ । अस्पतालमा मात्रै पाँच लाख रुपियाँभन्दा धेरै तिरेको बिल आफूसँग भएको दाबी उनको छ ।
चितवन मेडिकल कलेजमा उपचार गराएकी हिमालक्ष्मी भट्टको परिवारले नौ दिनको ९० हजार रुपियाँ बुझाएको छ । बिरामीका आफन्त नारायण केसीले रकम बुझाएको तर अस्पतालले अहिले निःशुल्क उपचार गरेको भनी सरकारसँग पनि माग गरेको सुन्दा अचम्मित भएको बताए । उनी जस्तै सिरहा गोलबजार–१३ का मनोजकुमार सिंहले पनि यो कलेजमा उपचार गराउँदा एक लाख ३८ हजार छ सय रुपियाँ तिरेका छन् ।उनले जिल्ला प्रशासन कार्यालय चितवनको इमेलमा प्रमाणसहित चितवन मेडिकल कलेज्बिरुद्ध उजुरी दिएका छन्।
चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले सरकारसँग भएको सम्झौताविपरीत उपचारमा पैसा लिएको भन्दै बिरामीले गुनासो गर्दै आएका छन् । कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन सम्बन्धमा सम्झौता भएका अस्पतालले गत वैशाखदेखि असार १५ गतेसम्म उपचार गरिएका बिरामीको सम्झौताबमोजिम निःशुल्क उपचार गर्ने गरी सम्झौता भएको थियो ।
सरकारले कोरोना सङ्क्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक दुई हजार, एचडीयूमा बसेको तीन हजार पाँच सय र आईसीयू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार रुपियाँ मात्रै लिन पाउने व्यवस्था गरेको थियो ।


