काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालय पुगेर बतास कम्पनीले बनाउन खोजेको संरचनाको निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा मन्त्री आलेले कपी शपको बहानामा ठूलै संरचना बनाउन खोजेको देखिएको बताएका छन् । त्यस्तै उनले सो क्षेत्रमा रहेको बंकरभित्र पनि निरीक्षण गरेका थिए । संरचना हेर्दा कफी शप नभई नाचगान र मदिरापानसम्मका लागि तयारी गरिएको देखिएको उनले बताए ।
उनले कपी शपका लागि मात्रै अनुमति दिइएको अभिव्यक्ति दिएका योगेश भट्टराईलाई एकपल्ट आएर अवलोकन गर्न सुझाव दिए । उनले नारायणहिटी संग्रहालयमा संरचना निर्माणका विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीलाई जानकारी गराइएको बताए ।
पुरातत्विक संरचनालाई मासेर कंक्रिटका भवन बनाउनु निन्दनीय रहेको उल्लेख गर्दै मन्त्री आलेले संरक्षण गर्ने जिम्मा पाएको कार्यालयका प्रमुखले उत्तरदायी भूमिका निर्वाह गर्न नसकेको बताए ।


