काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी पुष २५ गते आइतबार भारत भ्रमणमा जाने भएका छन् ।मन्त्रिपरिषद्को बैठकले २५ देखि २७ गते सम्मका लागि प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको हो ।२५ सदस्यीय टोलीमा प्रधानमन्त्री देउवासहित २५ जना हुने बताइएको छ भने टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुने बताइएको छ ।
चार दिने भ्रमणका लागि निस्कन लागेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले यो भ्रमणलाई भारत सरकार र विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध सुधार गर्ने तथा नेपाल र भारतबीचमा रहेका सीमा विवाद, नयाँ नक्शा, व्यापार घाटा लगायत समस्या सम्बोधन गर्ने दिशातर्फ सकारात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रयोग गर्न खोजेको देखिन्छ ।केही मन्त्री र उद्योगी व्यवसायीहरु रहेको नेपाली टोली पुस २५ गते नै अहमदावाद जानेछ । त्यहाँ ‘भाइब्रेन्ट गुजरात ग्लाेबल समिट’मा सहभागी हुनुका साथै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता समेत गर्ने छन् ।
प्रधानमन्त्री बन्नु अघिसम्म देउवा मात्र होइन, नेपाली कांग्रेसप्रति भारतको दृष्टिकोण फरक थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनपछि देउवा विघटन विरुद्धको आन्दोलनका पक्षमा नउभिनुमा भारत पनि एउटा कारण थियो । संसद पुनर्स्थापनाको पक्षमा फैसला त भयो । उनमा सरकारको नेतृत्व गर्ने चाहना त थियो, तर भारत आफूप्रति सकारात्मक छैन बुझेका देउवाले सरकारको नेतृत्वका लागि रुचि देखाएनन् ।
प्रधानमन्त्री देउवाले ३ साउनमा विश्वासको मत लिएपछि भने भारतको दृष्टिकोण बदलियो । भारतले देउवासँग सम्बन्ध सुधार्न चाह्यो, देउवा पनि सम्बन्ध सुधार नै चाहन्थे । भदौमा नेपाल आएका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे । कांग्रेसका तत्कालीन सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली भारत पुग्यो र बीजेपीका नेताहरुसँग भेटवार्ता गरे ।
कात्तिकमा जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भयो । दुवैले एकअर्कालाई आफ्नो देश भ्रमणको निम्तो समेत दिए ।भारतीय प्रधानमन्त्री मोदीले आफ्नो गृहनगर गुजराजमा हुने ‘भाइब्रेन्ट गुजरात समिट’मा सहभागिताका लागि नेपाली समकक्षी देउवालाई निमन्त्रणा पठाए । कांग्रेसको १४औं महाधिवेशनबाट देउवा फेरि सभापतिमा निर्वाचित भए ।
सभापतिमा निर्वाचित हुनुभएको छ र सम्भवत: भोलिको पनि प्रधानमन्त्री भएकाले भारत देउवासँग सम्बन्ध सुधार हुन चाहेको देखिन्छ।प्रधानमन्त्री देउवाले पनि यो भ्रमणलाई भारत सरकार र विशेष गरी मोदीसँग सम्बन्ध सुधार गर्ने तथा नेपाल र भारतबीचमा रहेका सीमा विवाद, नयाँ नक्शा, व्यापार घाटा लगायतका समस्याहरु सम्बोधन गर्ने दिशातर्फ सकारात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रयोग गर्न खोजेको देखिन्छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट जीटुजीमार्फत मल खरिद गर्न सम्झौता गर्ने निर्णय पनि गरेको छ । भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ ।पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने भनिएको छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको बताइएको छ ।प्रधानमन्त्री देउवा भारत भ्रमणकै समयमा यस विषयमा सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने छ / लिम्पियाधुरा, कालापानीका विषयमा नक्सा विवाद उत्पन्न भएपछि दुई देशबीच उच्चस्तरीय औपचारिक भ्रमण आदानप्रदान भएको थिएन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैतमा तीनदिने भारत भ्रमण गरेका थिए । त्यसअघि प्रधानमन्त्री रहेका देउवाले २०७४ भदौमा पाँचदिने राजकीय भ्रमण गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले भने ७ वर्षे कार्यकालमा ३ पटक नेपाल भ्रमण गरेका छन् ।


