काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । अहिले धमाधम जिल्ला अधिवशन भइरहेको छ । यसबाट महाधिवेशन प्रतिनिधि छान्ने क्रम पनि जारी रहेको छ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ३० जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । जसमा सभापति शेरबहादुर देउवा पक्षीय १७ र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट १३ जिल्ला सभापति निर्वाचित भएका छन् । १३ औं महाधिवेशनमा पौडेल समूहले जितेका ८ जिल्लामा देउवा पक्षीय नेता सभापतिमा निर्वाचित भएका छन् । यस्तै १३ औं महाधिवेशनमा पौडेल समूहले १७ वटा जिल्ला सभापति जितेको थियो ।५ वटा जिल्ला सभापति गुमाएको छ । ३० जिल्लाको परिणाम अनुसार पौडेल पक्षले १३ जिल्ला सभापति जितेको छ । १३ औंमा जितेका देउवा समूह निर्वाचित भएको ५ जिल्लामा पौडेल पक्षले बाजी मारेको छ । १३ औं महाधिवेशनमा १२ जिल्ला सभापति जितेको देउवा समूहले १४ औंमा १७ जिल्ला सभापति जितेको छ । प्रदेश एक र कर्णालीमा यसपटक देउवा समूहको उपस्थिति बलियो देखिएको छ ।
यसअघि डोल्पामा पौडेल समूहका अंगतकुमार वुढा सभापति थिए भने अब देउवा समूहबाट दीपेन्द्रबहादुर शाही सभापतिमा निर्वाचित भएका छन् । जुम्लामा पनि यसअघि पौडेल पक्षीय दिपवहादुर शाही जिल्ला सभापति भए भने अब उनको ठाउँमा देउवा पक्षका कर्णबहादुर शाही विजयी भएका छन् । यस्तै लम्जुङमा पौडेल पक्षीय भेषबहादुर पौडेलको ठाउँमा देउवा पक्षका डा. टकराज गुरुङ निर्वाचित भएका छन् ।सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा भीमबहादुर साउद सभापति भएका छन् । १३ औं महाधिवेशनमा पनि देउवा पक्षकै कर्णबहादुर मल्ल जिल्ला सभापति थिए । पछिल्लो समय संस्थापन इत्तर निकट देखिएका मल्लले जिल्लाको अधिवेशन प्रक्रिया बहिस्कार गरेपछि साउद सहजै जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।यस्तै पाँचथरमा यसअघि पौडेल पक्षका नरेन्द्र कुमार केरूङ जिल्ला सभापति थिए भने यसपटक देउवा निकट रुपनारायण जवेगु नेतृत्वमा आएका छन् । सल्यानमा पनि पौडेल पक्षीय गणेश चन्दको विकल्पको रुपमा देउवा समूहका केसबहादुर बिष्ट जिल्ला सभापति आएका छन् ।मनाङमा यसअघि देउवा पक्षीय शंकर गुरुङ जिल्ला सभापति थिए भने यसपटक पनि देउवा पक्षीय टेकबहादुर गुरूङ जिल्ला सभापति बनेका छन् । हुम्लामा देउवा पक्षीय जयपति रोकायको ठाउँमा देउवा पक्षकै मोहनविक्रम सिंह सभापति बनेका छन् ।
यता ताप्लेजुङमा पौडेल पक्षीय लीला बोखिमको विकल्पमा देउवा निकट गजेन्द्र तुम्याहाङ सभापतिमा निर्वाचित भएका छन् । यस्तै रामेछापमा पौडेल समूहका लवश्री न्यौपानेलाई विस्थापित गरी देउवा पक्षीय कान्छाराम तामाङ जिल्ला सभापति बनेका छन् ।मुगुमा पनि यसअघि पौडेल पक्षीय खड्गवहादुर शाही जिल्ला सभापति थिए भने यसपटक देउवा समूहका ऐनबहादुर शाही सभापति विजयी भएका छन् ।म्याग्दीमा भने देउवा पक्षीय खमवहादुर (खमबीर) गर्बुजा जिल्ला सभापतिमा दोहोरिएका छन् ।
बझाङमा देउवा पक्षका हर्कजंग बहादुर सिंहको विकल्पमा देउवा निकट खडक बोहरा जिल्ला सभापति बनेका छन् । यस्तै जाजरकोटमा पनि देउवा पक्षीय दिपकजंग शाह जिल्ला सभापति थिए भने अब काँग्रेस जाजरकोटको नेतृत्व वेदराज सिंहको काँधमा पुगेको छ ।डोटीमा देउवा पक्षीय वर्तमान सभापति प्रदीप देउवालाई विस्थापित गरेर देउवा पक्षकै नरेन्द्र सिंहले नेतृत्व हत्याएका छन् । ओखलढुंगामा देउवा पक्षका प्रदीपकुमार सुनुवार जिल्ला राजनीतिबाट रिङआउट भएपछि देउवा पक्षकै तेजेन्द्र खनाल जिल्ला सभापतिका निर्वाचित भएका छन् । यस्तै रुकुम पश्चिमा देउवा पक्षीय प्रेमप्रकाश वली सर्वसम्मत जिल्ला सभापतिमा दोहोरिएका छन् । ३० जिल्लाको नतिजामा पौडेल समूह केही खुम्चिएको छ । नयाँ थपिएको रुकुमपूर्व गरी १३ जिल्ला सभापति जितेको पौडेल समूहले विगतको उपस्थिति जगाउन सकेन । यद्यपि १३ जिल्ला जित्दै गर्दा देउवाको गड मानिएका तीन जिल्लाको सभापति आफ्नो पक्षमा परेको छ । दोलखा, बाजुरा र गोरखामा पौडेल समूहले देउवा पक्षीय जिल्ला सभापति विस्थापन गरेको छ ।यसअघि गोरखामा देउवा पक्षीय हरिबहादुर घले जिल्ला सभापति थिए भने अब नन्दप्रसाद न्यौपानेको हातमा जिल्ला नेतृत्व पुगेको छ । यस्तै दोलखामा देउवा समूहमा रुद्रबहादुर खड्कालाई विस्थापित गरी पौडेल पक्षीय बर्मा लामा जिल्ला सभापति बनेका छन् ।
देउवाको गृहप्रदेश सुदूरपश्चिमको बाजुरामा उनी निकट कविराज पण्डित जिल्ला सभापतिमा पराजित भए । पण्डितलाई हराएर पौडेल समूहका रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।देउवा पक्षलाई पराजित गरेपछि वरिष्ठ नेता पौडेलले सुदूरपश्चिममा पनि परिवर्तन सम्भव भन्ने सन्देश दिएको बताएका थिए । ‘परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो,’ उनको भनाइ थियो ।सुदूरपश्चिमको बैतडीमा पौडेल पक्षले जिल्ला सभापति पद सुरक्षित पारेको छ । देउवा पक्षीय केन्द्रीय सदस्य रमेश लेखकको समर्थनपछि बैतडीमा पौडेल पक्षीय चतुरबहादुर चन्द जिल्ला सभापति भएका छन् । यसअघि पनि पौडेल पक्षीय नरेन्द्रसिंह थापा जिल्ला सभापति थिए ।
भोजपुरमा पौडेल पक्षीय नन्दमणी राईलाई विस्थापित गरी पौडेल पक्षकै विनोद बान्तावा जिल्ला सभापति भएका छन् । यस्तै प्यूठानमा यसअघि पौडेल पक्षीय अमरप्रसाद भण्डारी जिल्ला सभापति थिए । यसपटक पनि पौडेल पक्षीय विष्णुकुमार गिरी जिल्ला सभापति भएका छन् ।
अर्घाखाँचीमा विष्णुप्रसाद खनालको ठाउँमा पौडेल पक्षीय केशव श्रेष्ठ जिल्ला सभापति बनेका छन् । मुस्ताङमा पौडेल पक्षीय याङजिङ विष्ट जिल्ला सभापति थिए । यसपटक रोमी गौचन थकाली जिल्ला सभापतिका रुपमा निर्वाचित भएका छन् । यस्तै संखुवासभामा दिपनकुमार श्रेष्ठलाई विस्थापन गरी पौडेल पक्षकै दिपक खड्का जिल्ला सभापति चुनिएका छन् ।
कालिकोटमा हर्षवहादुर बमलाई विस्थापित गरी अम्मबहादुर शाही जिल्ला सभापति बनेका छन् । १३ औं महाधिवेशनमा पौडेल समूहबाट जिल्ला सभापति निर्वाचित भएका बम पछिल्लो समय सिटौला निकट थिए ।
अब कालिकोटमा पौडेल पक्षकै जिल्ला सभापति भएका छन् । यस्तै रोल्पाका जिल्ला सभापति अमरसिंह पुनको ठाउँमा पौडेल पक्षकै किशोर आचार्य निर्वाचित भएका छन् ।तेह्रथुममा पनि पौडेल पक्षीय जिल्ला सभापतिमा गोविन्द ढुंगाना थिए । यसपटक तेह्रथुममा पौडेल पक्षीय अुर्जुन तुम्बाहाम्फे जिल्ला सभापति भएका छन् । संघीय संरचनामा गएसँगै रुकुम टुक्रिएर रुकुमपूर्व र रुकुमपश्चिम बनेको छ । पार्टी संरचनालाई संघीय संरचनामा लिँदा रुकुम पूर्वको संयोजक केशरमान रोका बनेका थिए । १४ औं महाधिवेशनबाट पनि उनी जिल्ला सभापति भएर आएका छन् ।
नेताका आफन्त महाधिवेशन प्रतिनिधि ?
महाधिवेशन प्रतिनिधि छान्ने क्रम पनि जारी रहेको छ । प्रतिनिधि छान्ने क्रममा शीर्ष नेताहरुका आफन्त पनि महाधिवेशन प्रतिनिधि भएका छन् । जसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती डा. आरजु देउवा महाधिवेशन प्रतिनिधि भएकी छिन् ।देउवाका भाइ र भतिजा पनि महाधिवेशन प्रतिनिधि भएका छन् । भतिजा प्रकाश देउवा (डा.आरजुका स्वकीय सचिव) र भाइ लोकबहादुर देउवा महाधिवेशन प्रतिनिधि भएका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पनि महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । छोरा चिन्तन बेलायतबाट छनोट हुन बाँकी छ । १३ औं महाधिवेशनमा पनि उनी महाविधेशन प्रतिनिधि भएर आएका थिए ।पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्याम पनि महाधिवेशन प्रतिनिधि बन्न सफल भएका छन् । त्यस्तै पूर्व महामन्त्री प्रकाशमान सिंहका छोरा र श्रीमती महाधिवेशन प्रतिनिधि भएका छन् । उनका छोरा प्रभासमान र श्रीमती सिर्जना महाधिवेशन प्रतिनिधि भएका हुन् । त्यस्तै उपसभापति विजयकुमार गच्छदारका छोरा सुवास पनि महाधिवेशन प्रतिनिधि भएका छन् ।सहमहामन्त्री डा. प्रकाशशरण महतकी श्रीमती बिना पनि महाधिवेशन प्रतिनिधि भएकी छिन् । केन्द्रीय सदस्य डा. रामशरण महतकी श्रीमती पनि महाधिवेशन प्रतिनिधि भइसकेकी छिन् ।त्यस्तै केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका भाइहरु कांग्रेसको राजनीतिमा पहिलेदेखि नै सक्रिय छन् । स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग महाधिवेशन प्रतिनिधि भएका छन् । खड्काकी श्रीमती शिला केन्द्रीय समितिमै छिन् । स्वर्गीय नविन्द्रराज जोशीकी श्रीमती सपना पनि महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । केन्द्रीय सदस्य मोहन बस्नेतले श्रीमती माण्डवी राणा बस्नेतलाई ल्याउँदैछन् ।


