तराईका गाउँघरमा अटो रिक्सा : एम्बुलेन्सदेखि ट्याक्सीसम्मकाे विकल्प बन्दै

धनगढी । मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा घोडाघोडी नगरपालिका–५ का दलबहादुर विकलाई पहिलाजस्तो यसपट चिन्ता र समस्या भएन । दलबहादुरले केही दिनअघि आफ्नी श्रीमती बिरामी भएपछि छिमेकीले सञ्चालन गरेको अटो रिक्सामा घोडाघोडी नगरपालिका–१ मा रहेको घोडाघोडी अस्पतालमा अस्पताल लग्नुभयो र उपचार गरेर सोही रिक्सामा घर फर्कनुभयो । मध्यरातमै अस्पताल लगेर उपचार गरेर बिहानै श्रीमतीलाई घर लिएर जानुभएका दलबहादुर अटो छ र त आनन्द छ भन्दै हुनुहुन्थ्यो ।

टाउकोमा चोट लागेकी छोरीलाई पहलमानपुरस्थित पहलमानपुर पोलीक्लिनिकमा लिएर आउनुभएका घोडाघोडी नगरपालिका–११ का श्यामलाल कठरिया तनावका बीच भन्दै हुनुहुन्थ्यो, “अटोरिक्सा भएर छोरीलाई अस्पतालसम्म लिएर आउन सकेँ नत्र के पो हुन्थ्यो । छोरीलाई चोट लाग्ने बित्तिकै फोन गरे र अटो आइपगेपछि छोरीलाई अस्पताल ल्याउन सकेँ, नत्र छोरीलाई धेरै समस्या हुने थियो ।” स्थानीयस्तरमा अटो सञ्चालन भएदेखि आपतविपद् पर्दा बिरामी अस्पतालसम्म पुर्याउन धेरै सहज भएको कठरियाको भनाइ छ ।

अहिले गाउँगाँउमा सञ्चालन भएका अटोरिक्साले गर्दा सामान्य काममा बजार निस्कनेदेखि लिएर बिरामी हुँदा अस्पताल लैजान निकै सहजता भएको छ । स्थानीय किसानले गाउँघरमा उत्पादन गरेका तरकारी तथा अन्य उत्पादनलाई बजारसम्म लैजानसमेत गाउँगाउँमा सञ्चालनमा आएका अटोरिक्साले गर्दा सहज भएको छ ।

घोडाघोडी नगरपालिका–२ का अगना चौधरीले आफूले उत्पादन गरेका फलहरू लिची र आँप बजारसम्म लैजान अटोरिक्साकै प्रयोग गर्ने गरेको बताउनुभयो । पहिला–पहिला यस्तो सुविधा थिएन, साइकल चलाएर चर्को घाममा उत्पादित फलहरू लिएर बजारसम्म जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै सञ्चालित अटोरिक्साले गर्दा धेरै सहज भएको चौधरीको भनाइ छ ।

गाउँघरमा बिरामी बोक्ने, यातायातको पहुँचमा नभएका नागरिकलाई ग्रामीण भेगमै गएर गन्तव्यमा पुर्याउने गरेको पहलमानपुर बजार र आसपासमा अटोरिक्सा चलाउने टेकराज भट्टराईको भनाइ छ । रातारात बिरामीलाई पहलमानपुरबाट करिब ६० किलोमिटर टाढा अस्पतालसमेत पुर्याएको उहाँले बताउनुभयो । हामी दिनरात चौबीसै घण्टा सेवामा हुन्छाैँ । “हुन त यो हाम्रो व्यवसाय हो तर पनि हामीले सेवा गरेको जस्तो काम हुन्छ । रातदिन नभनी हामी सेवा दिन्छौँ, त्यसैले नागरिकले सहजता महसुस गरेका छन्,” भन्नुहुन्छ, भट्टराई ।

गाउँगाउँमा अटो सञ्चालन भएका कारण मानिसले बिरामीलाई तत्काल अस्पताल पुर्याउने गरेका कारण उनीहरूमा जोखिम कम हुने गरेको पहलमानपुरमा रहेको लक्ष्मी मेडिकलकी सञ्चालक दिना चौधरी बताउनुहुन्छ । पहिला–पहिला मानिस यातायातका साधन नहुँदा अस्पतालसम्म आउन ढिला भएका कारण निकै समस्या भोग्ने गरे पनि आजभोलि अटोरिक्साका कारण गाउँले जीवनमा परिवर्तन आएको चौधरी बताउनुहुन्छ । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..