सिरहा । समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न दिनरात खटिने नेपाल प्रहरीले मानवीय सेवामा पनि आफ्नो सशक्त उपस्थिति जनाउँदै आएको छ। यसै क्रममा इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बिष्णु प्रदीप बस्याल तथा सम्पूर्ण प्रहरी टोलीले देखाएको तदारुकता र सामाजिक उत्तरदायित्वको स्थानीयस्तरमा उच्च प्रशंसा भइरहेको छ।

प्रहरीको मुख्य जिम्मेवारी अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नु भए तापनि इलाका प्रहरी कार्यालय लहानले त्यो दायराभन्दा माथि उठेर सेवा प्रवाह गरिरहेको छ। समय-समयमा संकटमा परेका, अशक्त, असहाय र सडकमा अलपत्र परेका नागरिकहरूलाई समयमै उद्धार गरी अस्पताल पुर्याउने र नयाँ जीवन प्रदान गर्ने कार्यमा डिएसपी बस्यालको कमाण्डमा लहान प्रहरीले देखाएको सक्रियता अनुकरणीय छ।

सडकमा कष्टकर जीवन बिताउन बाध्य नागरिकहरूप्रति प्रहरीले देखाएको यो मानवीय संवेदनाले ‘प्रहरी मेरो साथी’ भन्ने नारालाई पूर्ण रूपमा व्यवहारमा उतारेको स्थानीयवासीहरूको भनाइ छ।

संकटको घडीमा मलम लगाउँदै नागरिकको जीवन रक्षामा खटिएका इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी बिष्णु प्रदीप बस्याल तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति सर्वसाधारण तथा स्थानीय अगुवाहरूले हार्दिक आभार व्यक्त गर्दै धेरै-धेरै धन्यवाद ज्ञापन गरेका छन्। प्रहरीको यस्तै जनमुखी र मानवीय कार्यले नागरिक र प्रहरीबीचको विश्वासको सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउँदै लगेको छ।


