सिरहा । सिरहाको औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा २०८३ असोज १७ गते राति करिब १ः३५ बजे सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टी बस्ने मनाई सदायका छोरा ४३ वर्षीय मिश्रीलाल सदाय, सोही स्थानका प्रेमा सदायका छोरा ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ बस्ने रामप्रकाश यादवका छोरा ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्।
उनीहरूले टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ बोरा गाँजा नियन्त्रणमा लिइएको र नापतौल गर्दा कुल ११० किलो ७६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई गाँजासहित नं. ७ गण हे.क्वा. सिरहामा ल्याई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।
त्यसैगरी, पक्राउ परेकाहरूको साथबाट ३ थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।


