काठमाडौं । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजनप्रति लक्षित गर्दै नेपाल प्रहरीले विशेष राहत तथा कल्याणकारी निर्णय गरेको छ ।
सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिहरूलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए।
यसका साथै समितिले प्रभावित प्रहरी परिवारका अन्य सदस्यहरूको जीविकोपार्जन तथा दीर्घकालीन पुनर्स्थानाका लागि विशेष ध्यान दिँदै उनीहरूलाई आवश्यकताअनुसारका सीपमूलक तथा व्यावसायिक तालिमहरू प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने निर्णय गरेको छ । जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीहरूको त्याग र समर्पणको उच्च मूल्यांकन गर्दै यो कदम चालिएको डिआइजी काफ्लेले बताए।
भोटेकोशी बाढीमा तीनजनाको मृत्यु भएको छ भने २५ जना अझै बेपत्ता छन्। उनीहरूको परिवारलाई लक्षित गरी राहतको निर्णय भएको हो । यसअघि उनीहरूका परिवारलाई दिने राहतको पनि घोषणा भइसकेको छ।


