२२ महिनापछि प्रहरीमाथि ज्यान मार्ने प्रयासका मुख्य अभियुक्त पक्राउ, प्रहरीको गोलीबाट घाइते

सिरहा । सिरहामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मणप्रसाद यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिई फरार भएका संगठित अपराधका मुख्य प्रतिवादी २२ महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुबनी जिल्ला मधवनी थाना ललमनियाँ गाउँ घोडामोहनाका ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरी रहेका छन् । उनी घटनामा प्रयोग भएको टाटा सफारी गाडीका धनी तथा चालकसमेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टी गाउँपालिका–२ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिकबाट भारततर्फ ठूलो मात्रामा मदिरा तस्करी भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले २०८१ माघ १६ गते बिहान करिब ३ बजे टाटा सफारी गाडी रोकेर जाँच गर्न खोजेको थियो ।

प्रहरीका अनुसार जाँचका क्रममा गाडीमा सवार व्यक्तिहरूले ड्युटीमा रहेका असई यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिएका थिए । घटनापछि गाडीमा सवार व्यक्तिहरू फरार भएका थिए । घटनापछि प्रहरीले उनीहरूविरुद्ध संगठित अपराध तथा ज्यान मार्ने प्रयाससम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो ।

लामो समयदेखि फरार रहेका प्रतिवादीमध्ये मुख्य अभियुक्त मंसुरीलाई प्रहरीले २२ महिनापछि नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

उनका अनुसार २०८३ भदौ ३ गते साँझ करिब ७ः१० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिक मंसुरीलाई नियन्त्रणमा लिन प्रहरी टोली पुगेको थियो । सो क्रममा मंसुरीसहित तीन जनाले प्रहरी टोलीलाई लक्षित गरी एक राउन्ड गोली चलाएको प्रहरीको दाबी छ ।

प्रहरीमाथि फायर भएपछि जवाफी कारबाही गरिएको डीएसपी पालले बताए । त्यस क्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको थियो । प्रहरीको जवाफी फायरिङमा मंसुरीको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका मंसुरीलाई प्रहरीले नियन्त्रणमा लिई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरेको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको छ । सीमा क्षेत्रमा हुने मदिरा तथा अन्य अवैध वस्तुको तस्करी नियन्त्रणका क्रममा प्रहरीमाथि नै आक्रमण भएको घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ ।

२२ महिनासम्म फरार रहेका मुख्य अभियुक्त मंसुरी पक्राउ परेपछि घटनाको थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनामा प्रयोग भएको हतियार, तस्करीमा संलग्न अन्य व्यक्ति तथा उनीहरूको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..