काठमाडौं । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले किसानको अपमान गरेको भन्दै आपत्ति जनाएकाे छ ।महासंघले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेनले हिजो फेसबुकमा कवितामार्फत ‘किसानझैँ फोहर’ भनेर लेखेकोमा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
मेयर साहले कवितामा किसानलाई होच्याउने र स्वाभिमानमा चोट पुग्ने गरी अपमान गरेको भन्दै माफी माग्नुपर्ने बताएको छ ।‘काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी “किसानझैँ फोहर” भनि दिइएको अभिव्यत्तिप्रति अखिल नेपाल किसान महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । मुलुकको प्रमुख र आधारभुत उत्पादक शक्तिका रुपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भत्सर्ना र निन्दा गर्दछ ।
काठमाडौं महानगरपालिकाको मेयरजस्तो जिम्मेबार पदमा आसिन व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाई व्यक्त हुन खेदजनक छन् ।मेयर साहलाई अभिलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफीमाग्न सूचित गरिएको छ । अन्यथा निज साहको विरुद्धमा महासंघले थप कदम उठाउने समेत चेतावनी दिन चाहन्छौं ।’ महासङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
मेयर साहलाई अभिलम्ब आफ्नो स्ट्याटस हटाउन र किसानसँग माफी माग्न आग्रह गरेका छन् । अन्यथा उनीविरुद्ध महासङ्घले थप कदम उठाउने चेतावनी समेत दिएको छ । मेयर साहले हिजो फेसबुकमाफर्त एक कविता सार्वजनिक गरेका थिए । जहाँ किसानलाई फोहोर किसान भनेका थिए ।


