सिरहामा १०३ किलो गाँजासहित ९ जना पक्राउ

सिरहा । औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक ( डिएसपी ) विरेन्द्र कुमार पासवानले पक्राउ पर्नेमा पाँच जना भरिया, एक जना रेक्की गर्ने व्यक्ति, गाँजा साहु तथा खरिद गर्न आएका दुई जना भारतीय नागरिक रहेको बताए ।

भरियामा गोलबजार नगरपालिका–१ मक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन् । रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका–३ का ४२ वर्षीय राजेन्द्र यादव र साहु गोलबजार नगरपालिका–१ मक्सारकै ३२ वर्षीय जीवछ साह रहेका छन् ।

यस्तै, खरिद गर्न आएका भारतीय नागरिक मधुवनी जिल्ला, कुमरखद ग्राम पञ्चायत–१४का ३० वर्षीय धर्मेशकुमार कामति र ३९ वर्षीय वैधनाथ चौधरी रहेका छन् । चौधरीको साथबाट नेपाली रुपैयाँ ४५ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक पासवानका अनुसार गाँजा पाँचवटा बोरामा हालेर आँपको बगैचामा लुकाइ राखिएको थियो ।

प्रारम्भमा गाँजा ओसार्दै गरेका भरिया फेला परेपछि उनीहरूलाई केरकार गर्दै जाँदा बाँकी समूह गाँजासहित फेला परेको हो । पक्राउ परेकाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..